कर्मचारीको सरुवा बढुवाका लागि फाइल बोकेर बिचौलिया आए कारबाही गर्छु : अमनलाल मोदी - Chaitanya News
  • 2026-05-11
  • 05:21:24
  • आइतबार,बैशाख २७, २०८३
  • कर्मचारीको सरुवा बढुवाका लागि फाइल बोकेर बिचौलिया आए कारबाही गर्छु : अमनलाल मोदी

    कर्मचारीको सरुवा बढुवाका लागि फाइल बोकेर बिचौलिया आए कारबाही गर्छु : अमनलाल मोदी

    विराटनगर– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारी सरुवा बढुवाको फाइल बोकेर बिचौलिया आए कारबाही गर्ने बताएका छन्। प्रेस सेन्टर मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले बिचौलिया आए कारबाही गर्ने बताएका हुन्।

    मोदीले कर्मचारी सरुवाका लागि आफूलाई ठूला नेताले पनि दबाब दिइरहेको बताए। सुशासन कायम गर्न मन्त्रालयदेखि नै सुरु गरेको बताउँदै बिचौलियालाई कारबाही गर्ने बताए।

    ‘विचौलिया बोकेर कर्मचारी सरुवा, बढुवाको फाइल ल्याउने गरेको छ। यदि कसैले त्यस्तो गरे कारबाहीको भागिदार बनाउने भनेको छु,’ उनले भने ,‘ जहाँ जसको दरबन्दी र पद छ त्यहाँ त्यही जाने भन्ने सुरुवात गर्न खोजेको छु।’

    उनले कर्मचारीलाई एउटै क्षेत्रमा मात्रै बस्न पनि नदिइने बताए। ‘सबै ठाउँमा कर्मचारी पुर्‍याउने मेरो अभियान छ,’ उनले भने, ‘हाम्रै मन्त्रालयमै क्रोनिक रुपमा वर्षौं वर्ष बसेका छन्। यसलाई हामीले सुधार गर्छौं।’

    उनले कर्मचारी सरुवाका लागि ठूला नेताबाट नै दबाब आइरहेको गुनासो गरे। ‘१० वर्ष सांसद हुँदा मैले कर्मचारी मेरो पालिकामा सारिदेउ भनिनँ,’ उनले भने,‘ अहिले नाम त भन्दिन ठूला(ठूला नेताहरु आफ्नो निर्वाचन क्षेत्रमा परेका स्थानीय तहमा यो कार्यकारीलाई पठाउनु पर्‍यो र हटाउन पर्‍यो भन्दै आइरहेका छन्।’ कर्मचारीको सरुवा बढुवा नीतिगत ढंगले सामधान गर्ने उनको भनाइ छ।

    दुई महिनाभित्र ऐन

    मन्त्री मोदीले दुई महिना भित्र संघीय निजामती सेवा ऐन ल्याउने तयारी भएको बताए। जारी अधिवेशनबाटै पारित हुने गरी २ महिनाभित्रै ऐन ल्याउनका लागि आफूले प्रयास गरिरहेको उनले बताए।

    ‘२ महिनाभित्रमै सकेसम्म टेबुल गर्न पाए हुन्थ्यो भनेर काम गरिरहेका छौं, संघीयताको कार्यान्वयन र कर्मचारीलाई न्याय गर्ने गरी उक्त ऐन आउँछ,’ उनले भने। उनले ऐनमा कर्मचारीको उमेर हदको विषय टुङ्गो लगाउन सकस परेको बताए।