काठमाडौं– पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले आत्मदाहपछि मृत्यु भएका इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा लेखेको ‘स्टाटस’लाई प्रहरीमा दिएको जाहेरीसरह मानेर कारबाही अघि बढाउनुपर्ने बताएका छन्।
नेम्वाङले आफ्नो गृहजिल्ला इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय युवक आचार्यले मंगलबार प्रतिनिधिसभा भवनअगाडि नयाँबानेश्वरमा गरेको आत्मदाहको कारण खुलाउँदै सामाजिक सञ्जालमा लेखेको व्यहोराले आफू स्तब्ध भएको बताए।
आत्मदाहपछि मृत्युको खबर सुन्नेबित्तिकै बुधबार बिहानै आफूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग टेलिफोनमा कुराकानी गरेको बताउँदै उनले आफूले कारबाही गर्न सुझाव दिएको बताए।
“मलाई उहाँले म अस्पताल गएर आचार्यका परिवारसँग भेट गर्न जान्छु भन्नुभएको थियो। हिजै जानुभयो,” उनले भने, “मैले उहाँलाई पनि आचार्यले आत्मदाहअघि लेखेको स्ट्याटसका आधारमा छानबिन गरी कारबाही गर्न सुझाव दिएँ।”
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले आत्मदाहको घटनालाई छानबिन गर्ने निर्णय सकारात्मक भएको बताउँदै नेम्वाङले बाह्रखरीसँग भने, “आत्मदाहअघि आचार्यले लेखेको स्टाटस पीडितको जाहेरी हो। त्यसलाई छानबिन गर्ने भनी क्याबिनेटले गरेको निर्णय सकारात्मक छ। यसबारे मैले गृहमन्त्रीलाई हिजो नै जानकारी गराएको थिएँ। यससम्बन्धमा राज्यले कारबाही अघि बढाओस्।”
वरिष्ठ अधिवक्तासमेत रहेका विघटित संविधानसभा अध्यक्ष नेम्वाङले आचार्यले सामाजिक सञ्जालमा लेखेको बयानको आधारमा छानबिन गर्न सकिने र यो उनको बकपत्र भएकोसमेत बताए।