चैतन्य सम्बाददाता, Author at Chaitanya News
  • 2026-11-29
  • 14:31:35
  • आइतबार,मंसिर १४, २०८३

About Author

नायब सुब्बामा दुईपटक असफल, शाखा अधिकृतमा पहिलो प्रयासमै देशभर प्रथम बनिन् ज्योति

लोकसेवा परीक्षामा सफलता पाउन वर्षौंको तयारी र निरन्तर संघर्ष गर्नुपर्ने धेरैको अनुभव छ। तर सही लक्ष्य, अनुशासन र निरन्तर प्रयासले सफलता सम्भव हुन्छ भन्ने उदाहरण बनेकी छन् रामेछापकी ज्योति घिमिरे। कृषि विषयमा स्नातक गरेकी उनले नेपाल सरकारको शाखा अधिकृत पदमा खुला प्रतिस्पर्धाबाट देशभर प्रथम स्थान हासिल गरेकी छन्। अझ उल्लेखनीय कुरा त के छ भने प्रशासन सेवाको तयारीमा उनको यो पहिलो प्रयास थियो। उनको यो सफलता सहजै प्राप्त भएको भने होइन। स्नातकपछि नायब सुब्बाको परीक्षा दुईपटक दिँदा पनि प्रथम पत्र उत्तीर्ण हुन नसकेकी ज्योतिले निराशालाई आफ्नो कमजोरी बन्न दिइनन्। विषयगत आधार कमजोर हुँदाहुँदै पनि प्रशासन सेवाको फराकिलो पाठ्यक्रमलाई चुनौतीका रूपमा स्वीकार गरिन्। कोचिङ, स्वअध्ययन, नियमित मोक टेस्ट र लेखन अभ्यासलाई निरन्तरता दिँदै आफ्नो तयारीलाई परिष्कृत गरिन्। बिहानदेखि बेलुकासम्मको अध्ययन, हरेक दिनको पुनरावृत्ति, साथीहरूसँग समसामयिक विषयमा छलफल र उत्तर लेखनको अभ्यास उनको तयारीका मुख्य आधार बने। नेपाली माध्यमबाट परीक्षा दिएकी उनले भाषाभन्दा विषयवस्तुको ज्ञान र प्रस्तुत गर्ने क्षमतालाई बढी महत्त्वपूर्ण ठानेकी छन्। चैतन्य खबरले गरेको ‘चैतन्य संवाद’मा ज्योतिले आफ्नो बाल्यकाल, शैक्षिक पृष्ठभूमि, लोकसेवा रोज्नुको कारण, तयारीका चुनौती, असफलताबाट पाएको सिकाइ र देशभर प्रथम हुँदासम्मको अनुभव सुनाएकी छन्। साथै, लोकसेवाको तयारी गरिरहेका युवालाई अध्ययन सामग्री छनोटदेखि लिखित परीक्षा, मोक टेस्ट, कम्प्युटर सीप र अन्तर्वार्तासम्मका व्यावहारिक सुझाव पनि दिएकी छन्। १–आफ्नो व्यक्तिगत पृष्ठभूमि, जन्मस्थान र शैक्षिक यात्राबारे बताइदिनुस् न। मेरो स्थायी ठेगाना रामेछापको गोकुलगङ्गा गाउँपालिका–४, बेताली हो। मेरो बाल्यकाल र प्रारम्भिक शिक्षा गाउँमै बित्यो। कक्षा १० सम्म श्री जनजागृत माध्यमिक विद्यालय, बेतालीमा अध्ययन गरेँ। त्यसपछि बनेपास्थित निस्ट कलेजबाट विज्ञान विषयमा प्लस टु पूरा गरेँ। स्नातक तह भने कृषि तथा वन विज्ञान विश्वविद्यालयको आङ्गिक क्याम्पस प्राकृतिक स्रोत तथा व्यवस्थापन कलेज, सिन्धुलीबाट कृषि विषयमा पूरा गरेँ। २– कृषि विषय पढ्नुभएको हजुर प्रशासन सेवामा कसरी आकर्षित हुनुभयो ? लोकसेवा रोज्ने सोच कसरी आयो ? पहिलेदेखि नै प्रशासन सेवामा जाने कुनै लामो योजना थिएन। तर मेरा सिनियर दाइदिदीहरू कृषि पृष्ठभूमिबाटै प्रशासन सेवामा प्रवेश गरेको देखेपछि मलाई पनि प्रेरणा मिल्यो। विदेशभन्दा आफ्नै देशमा बसेर केही गर्ने इच्छा थियो। देशमै रहेर सेवा गर्ने र व्यवस्थित जीवनयापन गर्ने उद्देश्यले निजामती सेवालाई रोजेँ। ३– लोकसेवा तयारीका लागि पारिवारिक वा अन्य कुनै प्रेरणाको स्रोत पनि हुनुहुन्थ्यो ? मेरी कान्छी फुपू नेपाल सरकारको शाखा अधिकृत हुनुहुन्छ। उहाँको कार्य र सफलताले मलाई सुरुवाती दिनमा प्रेरणा दिएको थियो। त्यसैगरी कृषि पृष्ठभूमिका सिनियरहरू प्रशासन सेवामा सफल भएको देख्दा मलाई पनि यो क्षेत्रमा आउनुपर्छ भन्ने आत्मविश्वास बढ्यो। ४– शाखा अधिकृतमा पहिलो प्रयासमै सफल हुनुभएको होरु यसअघि नायब सुब्बाको परीक्षा पनि दिनुभएको थियो ? शाखा अधिकृतका लागि यो मेरो पहिलो प्रयास थियो। तर स्नातक सकेपछि नायब सुब्बाको परीक्षा दुईपटक दिएकी थिएँ। दुवैपटक प्रथम पत्रमै सफल हुन सकिनँ। त्यसपछि निराश नभई थप मिहिनेत गर्दै शाखा अधिकृतको तयारीमा केन्द्रित भएँ। निरन्तर अध्ययन र प्रयासपछि पहिलो प्रयासमै सफलता प्राप्त गर्न सकेँ। ५– सङ्घीयता कार्यान्वयनपछि खुला प्रतिस्पर्धाबाट शाखा अधिकृतमा देशभर प्रथम हुने पहिलो महिला हजुर नै हो भन्ने सुनिन्छ। यसबारे के भन्नुहुन्छ ? मेरो जानकारीअनुसार वि।सं। २०६५–६६ मा एक जना महिला शाखा अधिकृतको प्रतिस्पर्धामा प्रथम हुनुभएको थियो। तर सङ्घीयता कार्यान्वयनपछि खुला प्रतिस्पर्धाबाट देशभर प्रथम हुने पहिलो महिला आफू नै भएको जानकारी पाएकी छु। ६– कृषि पृष्ठभूमिबाट आउनुभएकाले सामाजिक विज्ञान र व्यवस्थापनमा आधारित शाखा अधिकृतको पाठ्यक्रम अध्ययन गर्न कत्तिको चुनौतीपूर्ण भयो ?कसरी तयारी गर्नुभयो ? बाल्यकालदेखि नै सामाजिक अध्ययन विषयमा मेरो रुचि थियो। यद्यपि प्लस टु मा विज्ञान र स्नातकमा कृषि पढेकाले लोकसेवाको पाठ्यक्रम मेरा लागि नयाँ थियो। तर प्रशासन सेवामा जाने लक्ष्य बनाएपछि पाठ्यक्रमअनुसार अध्ययन गर्न मानसिक रूपमा तयार भएँ। सुरुदेखि नै लक्ष्यमा केन्द्रित भएर निरन्तर अध्ययन गरेकाले बिस्तारै विषयवस्तु बुझ्न र तयारीलाई सहज बनाउन सकेँ। ७– लोकसेवा तयारीका क्रममा हजुरको दैनिक अध्ययन तालिका कस्तो थियो ? स्नातकपछि मास्टर्स नगरी तयारीमै लाग्नुभएको हो ? मैले कृषि विषयमा स्नातक पूरा गरेपछि मास्टर्स नगरी लोकसेवाको तयारीमा लाग्ने निर्णय गरेँ। नाम निकालेर सरकारी सेवामा प्रवेश गरेपछि मात्र मास्टर्स गर्ने सोच बनाएकी थिएँ। तयारीका क्रममा इन्स्टिच्युटमा कक्षा लिएर नियमित अध्ययन गर्थें। बिहान चार–पाँच घण्टा, दिउँसो दुई–तीन घण्टा र बेलुका पनि समय मिलाएर पढ्ने गर्थें। निश्चित समयतालिका नभए पनि निरन्तरता र नियमिततालाई विशेष प्राथमिकता दिएँ। ८– स्नातकपछि जागिर वा उच्च शिक्षामा लाग्नुपर्ने सामाजिक दबाबका बीच परिवारबाट कस्तो साथ र सहयोग पाउनुभयो ? मेरा बुबाआमा दुवै शिक्षण पेशामा हुनुहुन्छ र छोरीहरू सरकारी सेवामा गएको देख्ने उहाँहरूको पहिलेदेखिको इच्छा थियो। त्यसैले परिवारबाट मलाई पूर्ण साथ र सहयोग मिल्यो। बीचमा कृषि क्षेत्रमा अवसर आउँदा पनि मैले लोकसेवाको तयारीका लागि एक वर्षको समय मागेँ। बुबाआमाले मेरो निर्णयलाई स्वीकार गर्नुभयो। परिवार, आफन्त, साथीभाइ र सिनियरहरूको हौसलाले नै आज यो सफलता प्राप्त गर्न सकेकी हुँ। ९– हजुरको सफलताबाट प्रेरित भएर बहिनीहरू पनि लोकसेवाको तयारीमा लाग्नुभएको छ ? हजुर, मेरी बहिनीले पनि भर्खरै स्नातक तह पूरा गरेकी छिन्। दिदीले गर्न सक्नुभयो भने म पनि सक्छु भन्ने आत्मविश्वासका साथ उनी अहिले नेपाल सरकारको शाखा अधिकृत पदका लागि तयारी गरिरहेकी छिन्। १०– लोकसेवा तयारीमा सामाजिक सञ्जालको प्रयोगलाई कसरी व्यवस्थापन गर्नुभयो ? सामाजिक सञ्जालबाट टाढै रहनुपर्छ भन्ने धारणालाई कसरी लिनुहुन्छ ? सामाजिक सञ्जाल पूर्ण रूपमा बन्द गर्नुपर्छ भन्ने मलाई लाग्दैन। यसको सही सदुपयोग गर्न सकियो भने अध्ययनका लागि निकै उपयोगी हुन्छ। मैले पनि फेसबुक चलाउँथेँ र त्यहाँ लोकसेवासम्बन्धी पेजहरूले सेयर गर्ने अध्ययन सामग्री तथा महत्त्वपूर्ण जानकारीलाई आफ्नो तयारीको स्रोत बनाएकी थिएँ। त्यसैले सामाजिक सञ्जालबाट टाढा रहनुभन्दा समय व्यवस्थापन गरेर त्यसको सही उपयोग गर्नु महत्त्वपूर्ण हुन्छ। ११– लोकसेवाको तयारीमा कोचिङ क्लास र घरको स्वअध्ययनबीच सन्तुलन मिलाउनुभयो ? तपाईंको अध्ययन विधि कस्तो थियो ? घरमै बसेर स्वअध्ययन गरेर सफल हुनेहरू पनि धेरै हुनुहुन्छ। तर मेरो शैक्षिक पृष्ठभूमि कृषि विषय भएकाले प्रशासनतर्फको पाठ्यक्रम बुझ्न आधारभूत ज्ञान आवश्यक थियो। त्यसैले मैले चैतन्य इन्स्टिच्युटमा भर्ना भएर बिहान कक्षा लिएँ। घर फर्किएपछि त्यही दिन पढेका विषय अनिवार्य रूपमा पुनरावृत्ति गर्थें। तीन–चार महिनाको कोचिङपछि भने पूर्ण रूपमा घरमै बसेर स्वअध्ययनलाई निरन्तरता दिएँ। १२– चैतन्यमा हुने साप्ताहिक मोक टेस्टले तपाईंको तयारी र लेखन सीपमा कस्तो सहयोग पुर्‍यायो ? मोक टेस्टले मेरो तयारीमा ठूलो सहयोग गर्‍यो। सुरुमा उत्तर लेख्न डर लाग्थ्यो र परीक्षामा कसरी लेख्ने भन्ने अन्योल थियो। सुरुका परीक्षामा कम नम्बर आए पनि निरन्तर अभ्यास गर्न छोडिनँ। नियमित मोक टेस्ट दिँदै जाँदा आत्मविश्वास र लेखन सीप दुवैमा सुधार आयो। यही अभ्यासले अन्ततः एक नम्बरमा सिफारिस हुन पनि मद्दत गर्‍यो। १३– तपाईंले नेपाली माध्यमबाट परीक्षा दिनुभयो। नेपाली र अङ्ग्रेजीमध्ये कुन माध्यम प्रभावकारी हुन्छरु सफलताका लागि भाषाभन्दा विषयवस्तु र लेखन सीप महत्त्वपूर्ण हुन् कि होइनन् ? म नेपाली माध्यमबाटै सफल भएकी हुँ। अङ्ग्रेजीमा तुलनात्मक रूपमा छिटो लेख्न सकिने भएकाले समय व्यवस्थापन सहज हुन सक्छ। तर नेपालीमा पनि राम्रोसँग विषयवस्तु प्रस्तुत गर्न सकिन्छ। मेरो रुचि र अभिव्यक्ति नेपालीमा सहज भएकाले मैले यही माध्यम रोजेँ। मेरो विचारमा माध्यमभन्दा विषयवस्तुको ज्ञान, स्पष्ट प्रस्तुति र लेखन सीप बढी महत्त्वपूर्ण हुन्छ। १४– कक्षा १० सम्म नेपाली माध्यम र त्यसपछि प्लस टु तथा ब्याचलर अङ्ग्रेजी माध्यममा पढेका परीक्षार्थीहरू कुन माध्यम रोज्ने भन्नेमा अन्योलमा हुन्छन्। उहाँहरूलाई तपाईंको सुझाव के छ? सबैभन्दा पहिले आफू कुन भाषामा बढी सहज र आत्मविश्वासी छु भन्ने पहिचान गर्नुपर्छ। मैले पनि कक्षा १० सम्म नेपाली माध्यममा पढेँ र त्यसपछि प्लस टु तथा ब्याचलर अङ्ग्रेजी माध्यममा अध्ययन गरेँ। लामो समय नेपाली लेखनबाट टाढा भए पनि लोकसेवाको तयारीमा नेपाली माध्यम रोजेँ र सफल भएँ। त्यसैले अरूले कुन माध्यम रोजे भन्नेभन्दा पनि आफूले कुन माध्यममा राम्रोसँग उत्तर लेख्न र विषयवस्तु प्रस्तुत गर्न सक्छु भन्ने आधारमा सुरुमै निर्णय गरेर तयारी अघि बढाउनुपर्छ। १५– लोकसेवा तयारीका लागि अहिले किताब, नोट्स र सामाजिक सञ्जालमा धेरै सामग्री उपलब्ध छन्। हजुरले अध्ययन सामग्री कसरी छनोट गर्नुभयो ?नोट्स बनाउने र स्रोतहरू व्यवस्थापन गर्ने तरिका के थियो ? सुरुमा बजारमा उपलब्ध प्रथम पत्र र द्वितीय पत्रका किताबहरू अध्ययन गरेर आफ्नो आधार बनाएँ। त्यसपछि आवश्यक विषयअनुसार इन्टरनेटबाट सामग्री खोज्ने, उपयोगी जानकारी छनोट गर्ने र आफूलाई महत्त्वपूर्ण लागेका विषय कपीमा नोट गर्ने गर्थेँ। सबै सामग्री पढ्नुभन्दा आवश्यक कुरालाई फिल्टर गरेर नियमित अध्ययन गर्नुपर्छ भन्ने मेरो अनुभव रह्यो। १६– हजुरको अध्ययन शैली कस्तो थियोरु एक्लै पढ्न रुचाउनुहुन्थ्यो कि साथीहरूसँग छलफल गरेर ? समूहमा अध्ययन गर्दाका फाइदा के रहे ? म एकान्तमा बसेर स्वअध्ययन गर्न बढी रुचाउँथेँ। तर हामी लोकसेवा तयारी गर्ने तीन जना साथीको सानो समूह पनि थियो। हरेक साँझ एक घण्टा समसामयिक विषयमा छलफल गर्ने र लेखेका नोट्स एकअर्कासँग साटासाट गर्ने गर्थ्यौँ। नियमित अध्ययन र आपसी छलफलले निकै सहयोग गर्‍यो। संयोगवश हामी तीनै जना एकैपटक सफल पनि भयौँ। १७– शाखा अधिकृतको प्रथम पत्रमा जीके, आइक्यु र अंग्रेजी गरी तीनवटा विषय हुन्छन्। विशेषगरी जीकेको दायरा निकै फराकिलो छ। यी विषयको अध्ययन, नोट्स बनाउने र सम्झिने रणनीति कस्तो बनाउनुभयो ? म दैनिक रूपमा रिटर्नसँगै प्रथम पत्रलाई पनि समय दिन्थेँ। जीके, आइक्यु र अंग्रेजीका लागि दिनमा एकदेखि दुई घण्टा छुट्याउँथेँ। जीके नियमित पढ्ने, समसामयिक विषय इन्टरनेटबाट खोज्ने र महत्त्वपूर्ण कुरा नोट गर्ने गर्थेँ। त्यसैगरी आइक्युको नियमित अभ्यास र अंग्रेजीको अध्ययनसँगै मोक टेस्ट दिने तथा पटक(पटक रिभिजन गर्ने बानी थियो। १८– नेपाली माध्यम वा सरकारी विद्यालयबाट अध्ययन गरेका परीक्षार्थीहरूलाई अंग्रेजीमा बढी समस्या हुने गरेको पाइन्छ। अंग्रेजीमा कमजोर भएका परीक्षार्थीले कसरी आफ्नो क्षमता सुधार गर्न सक्छन् ? अंग्रेजी होस् वा अन्य कुनै विषय, सुधारको मुख्य उपाय नियमित अध्ययन र अभ्यास नै हो। अंग्रेजी गाह्रो छ भनेर छोड्नु हुँदैन, किनभने यसले पनि २० अंक बोकेको हुन्छ। त्यसैले दैनिक अध्ययन गर्ने, प्रश्न अभ्यास गर्ने र नियमित मोक टेस्ट दिने गर्नुपर्छ। निरन्तर अभ्यास गर्दै जाँदा विस्तारै सुधार हुँदै जान्छ। १९– लिखित परीक्षा लोकसेवा सफलताको निर्णायक चरण हो। उत्तर लेख्दा बुलेट पोइन्ट वा प्याराग्राफमध्ये कुन शैली अपनाउनुहुन्थ्योरु विषय प्रवेश, मुख्य भाग र निष्कर्षलाई कत्तिको महत्त्व दिनुहुन्थ्योरु ?साथै, यसको तयारी कसरी गर्नुभयो ? लिखित परीक्षाले ३०० अङ्क भार वहन गर्ने भएकाले मैले यसलाई विशेष महत्त्व दिएँ। सुरुमा दोस्रो, तेस्रो र चौथो पत्रका आधारभूत पुस्तकहरू अध्ययन गरेँ। त्यसपछि पत्रपत्रिका, गोरखापत्रको बुधबारे शृङ्खला, इन्टरनेट, सरकारी प्रतिवेदन, बजेट, आवधिक योजना तथा नीति र कार्यक्रमहरूबाट उपयोगी सामग्री सङ्कलन गर्थें। राम्रा तथ्य, बुँदा र निष्कर्षहरू टिपोट गरी प्रत्येक विषयको उत्तर लेख्ने एउटा निश्चित ढाँचा तयार पार्थें। उत्तर लेख्दा विषयअनुसार बुँदागत प्रस्तुति, विषय प्रवेश, मुख्य भाग र निष्कर्षलाई समेट्ने प्रयास गर्थें। २०– उत्तरलाई प्रभावकारी बनाउन संविधान, ऐन, नियम र कानुनका व्यवस्थाहरू कसरी समावेश गर्नुहुन्थ्यो ? साथै, दोस्रो, तेस्रो र चौथो पत्रमध्ये कुन विषय गाह्रो लाग्यो र त्यसलाई कसरी व्यवस्थापन गर्नुभयो ? लोकसेवाको तयारी गर्नेले संविधानलाई मुख्य आधार बनाएर अध्ययन गर्नुपर्छ। मैले पनि संविधानका महत्त्वपूर्ण व्यवस्थाहरू अध्ययन गरी उत्तर लेख्दा आवश्यकताअनुसार तिनलाई उद्धृत गर्ने गर्थें। विषयगत रूपमा मलाई विज्ञान पृष्ठभूमिबाट आएकाले सुरुमा चौथो पत्र अर्थात् सेवा सम्बन्धी विषय अलि गाह्रो लाग्थ्यो। त्यसैले सुरुमा दोस्रो र तेस्रो पत्रको तयारीलाई बलियो बनाएँ र पछि चौथो पत्रलाई बढी समय दिएर नियमित अध्ययन तथा लेखन अभ्यास गरेँ। नियमित रूपमा लिखित परीक्षा पनि दिन्थें। यस क्रममा मेरा सिनियर तथा मार्गदर्शक शाखा अधिकृत केशव रिजाल दाइले उत्तरपुस्तिका जाँचेर कमजोरी र सुधार गर्नुपर्ने पक्षबारे सुझाव दिनुहुन्थ्यो। उहाँको मार्गदर्शन, निरन्तर अभ्यास र मिहिनेतले चौथो पत्रमा पनि आत्मविश्वास बढ्दै गयो। २१– लोकसेवा तयारीका क्रममा नोट बनाउने बानी कत्तिको महत्त्वपूर्ण हुन्छ ? नोट बनाउँदा के(कस्ता विषय समावेश गर्नुपर्छ ? नोट बनाउने तरिका व्यक्तिअनुसार फरक हुन्छ। मैले कोचिङका टिपोट, विभिन्न पुस्तक र इन्टरनेटमा उपलब्ध सामग्री अध्ययन गरेर आवश्यक तथा अतिरिक्त जानकारी आफ्नै कपीमा टिप्ने गर्थें। किताबमा भएका मुख्य कुरा किताबमै हाइलाइट गर्थें भने थप जानकारी नोटमा समेट्थें। नियमित रूपमा त्यही नोट दोहोर्‍याएर पढ्दा र मक टेस्टअघि रिभिजन गर्दा सम्झन सजिलो हुन्थ्यो। २२– लिखित परीक्षा उत्तीर्ण भएपछि कम्प्युटर सीप, सामूहिक छलफल र अन्तर्वार्ताको तयारी कसरी गर्नुभयो ? विशेषगरी नतिजा आएपछि तयारीका लागि समय कम हुँदा के गर्नुभयो ? सुरुमा मैले पनि लिखित परीक्षा पास भएपछि कम्प्युटरको तयारी गरौँला भन्ने सोचेकी थिएँ। तर कम्प्युटर, ग्रुप डिस्कसन र अन्तर्वार्ता पनि लिखित परीक्षाजत्तिकै महत्त्वपूर्ण रहेछन् भन्ने कुरा पछि महसुस भयो। कम्प्युटरमा अपेक्षाभन्दा कम अङ्क आएपछि यसको महत्त्व अझ बुझें। लिखित परीक्षामा ३–४ अङ्क बढी ल्याउन धेरै मिहिनेत गर्नुपर्छ, तर कम्प्युटरमा भएको सानो कमजोरीले पनि र्‍याङ्कमा ठूलो असर पार्न सक्छ। त्यसैले यी सबै पक्षलाई सुरुदेखि नै समान महत्त्व दिएर तयारी गर्नुपर्छ। २३– ग्रुप डिस्कसनको वातावरण कस्तो हुन्छ ? यसमा कसरी आफ्नो नेतृत्व क्षमता र प्रस्तुतीकरण देखाउन सकिन्छ ? मेरो पहिलो प्रयासमै शाखा अधिकृतमा सफलता मिलेकाले ग्रुप डिस्कसनको पहिले कुनै अनुभव थिएन। सुरुमा कस्तो होला भन्ने जिज्ञासा थियो, तर त्यहाँ डराउनुपर्ने वातावरण हुँदैन। सामान्यतया ४–६ जनाको समूह बनाएर एउटा विषय दिइन्छ र केही समय छलफल गर्न दिइन्छ। त्यसपछि आपसी समझदारी कायम गर्दै पालैपालो आफ्ना विचार र तर्क प्रस्तुत गर्नुपर्छ। यसमा आत्मविश्वासका साथ स्वतन्त्र रूपमा आफ्नो धारणा राख्ने, अरूको कुरा सुन्ने, सहकार्य गर्ने र समूहलाई सकारात्मक रूपमा अघि बढाउने क्षमता देखाउनु महत्त्वपूर्ण हुन्छ। २४–लोकसेवाको अन्तर्वार्तादेखि धेरै परीक्षार्थी डराउने गर्छन्। तपाईंको अन्तर्वार्ताको अनुभव कस्तो रह्योरु अपेक्षा नगरेका कुनै रोचक प्रश्न पनि सोधिएका थिए? म जुनसुकै प्रश्नको सामना गर्न तयार छु भन्ने आत्मविश्वासका साथ अन्तर्वार्तामा गएकी थिएँ। वातावरण पनि सहज र रमाइलो थियो। मलाई जलवायु परिवर्तनसम्बन्धी प्रश्न सोधिएको थियो। विशेषगरी, शाखा अधिकृतका रूपमा जलवायु परिवर्तनको समस्या समाधान गर्न नेपाल सरकारलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने प्रश्न आएको थियो। त्यस विषयमा पर्याप्त जानकारी नभएकाले मैले थाहा नभएको कुरा स्वीकार गरेँ। उहाँहरूले नै सहज रूपमा बुझाइदिनुभयो। २५– लामो समयसम्म तयारी गर्दा पनि सफलता नपाउँदा निराशा र मानसिक दबाब हुन्छ। परिवार र समाजको अपेक्षासमेत पूरा गर्नुपर्ने अवस्थामा यस्तो दबाबलाई कसरी व्यवस्थापन गर्नुभयो ? लोकसेवाको पाठ्यक्रम विस्तृत हुने र सफलता कहिले प्राप्त हुन्छ भन्ने निश्चित नहुने भएकाले निराशा र दबाब हुनु स्वाभाविक हो। परिवारको ठूलो अपेक्षा हुँदा झन् जिम्मेवारी महसुस हुन्छ। तर धैर्य राखेर निरन्तर अध्ययन, अभ्यास र प्रयास गर्दै आफू सफल हुन्छु भन्ने आत्मविश्वासका साथ अगाडि बढ्नुपर्छ। २६– अन्त्यमा आर्थिक अवस्था कमजोर भएका र पारिवारिक तथा सामाजिक दबाब झेल्दै शाखा अधिकृत बन्ने सपना देखिरहेका परीक्षार्थीहरूलाई के सुझाव दिन चाहनुहुन्छ ? आर्थिक अभाव, पारिवारिक अवस्था र अध्ययनको वातावरणले लोकसेवाको तयारीमा प्रभाव पार्छ। परीक्षा फाराम भर्नेदेखि विभिन्न ठाउँमा गएर परीक्षा दिनेसम्म आर्थिक समस्या पनि आउन सक्छ। त्यसमाथि परिवारको अपेक्षा र सफल भइन्छ कि भइँदैन भन्ने अनिश्चितताले मानसिक दबाब सिर्जना गर्छ। तर आफूले सक्छु भन्ने दृढ आत्मविश्वास राखेर नियमित अध्ययन र निरन्तर प्रयास गरिरह्यो भने एक दिन अवश्य सफलता प्राप्त गर्न सकिन्छ।

News by नायब सुब्बामा दुईपटक असफल, शाखा अधिकृतमा पहिलो प्रयासमै देशभर प्रथम बनिन् ज्योति :