चैतन्य सम्बाददाता, Author at Chaitanya News
  • 2026-11-24
  • 14:46:04
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

आठमध्ये पाँच अध्यादेश जारी, तीन राष्ट्रपति पौडेलको अध्ययनमा

काठमाडौँ– बालेन्द्र शाह नेतृत्वको सरकारले सिफारिस गरेका तीन अध्यादेश अझै राष्ट्रपति कार्यालयमै अध्ययनको क्रममा रहेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका तीन अध्यादेश हालसम्म स्वीकृत नगरेका हुन्। संघीय संसद्को बजेट अधिवेशन असोज १६ गते अन्त्य भएपछि सरकारले विभिन्न विषयका आठ अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। तीमध्ये पाँचवटा अध्यादेश जारी भइसकेका छन् भने बाँकी तीनवटा अध्यादेश राष्ट्रपति कार्यालयमा विचाराधीन छन्। राष्ट्रपति कार्यालयमा अध्ययनको क्रममा रहेका अध्यादेशमध्ये दुईवटा मन्त्रिपरिषद्ले कात्तिक १७ गते सिफारिस गरेको थियो। त्यस्तै, अर्को अध्यादेश मंसिर ४ गतेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको हो। कात्तिक १७ गतेको मन्त्रिपरिषद् बैठकले प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको थियो। त्यसैगरी, मंसिर ४ गतेको मन्त्रिपरिषद् बैठकले ‘जेन–जी आन्दोलनमा भएका घटनाका मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश, २०८३’ जारी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो। यी तीनवटै अध्यादेश हालसम्म राष्ट्रपतिबाट जारी भएका छैनन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव श्यामप्रसाद भण्डारीले तीनवटै अध्यादेश अध्ययनको क्रममा रहेको जानकारी दिए। ‘तीन अध्यादेश अध्ययनको क्रममा छन्,’ उनले रातोपाटीसँग भने। जेन–जी आन्दोलनका घटनासम्बन्धी आयोग गठन गर्ने अध्यादेश सोमबार मात्रै राष्ट्रपति कार्यालयमा दर्ता भएको हो। तर, अन्य दुई अध्यादेश भने राष्ट्रपति कार्यालयमा दर्ता भएको तीन साताभन्दा बढी समय बितिसकेको छ। यसअघि राष्ट्रपति पौडेलले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश र विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरिसकेका छन्। यसरी सरकारले सिफारिस गरेका आठ अध्यादेशमध्ये पाँचवटा जारी भए पनि तीनवटाको टुंगो लाग्न बाँकी छ।

News by आठमध्ये पाँच अध्यादेश जारी, तीन राष्ट्रपति पौडेलको अध्ययनमा :