चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 330 of 1153
  • 2026-11-22
  • 16:36:05
  • आइतबार,मंसिर ०७, २०८३

About Author

अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी चैत २७ देखि सुरु हुने

चितवन– दशौँ अन्तर्राष्ट्रिय प्रदर्शनी यही चैत २७ गतेदेखि सुरु हुने भएको छ। चितवन उद्योग सङ्घको आयोजनामा हुन लागेको प्रदर्शनी २९ गतेसम्म सञ्चालन हुने छ। सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी प्रदर्शनीका बारेमा जानकारी गराएको छ। नेपालका उद्योगहरूको प्रवर्द्धनका लागि आयोजना गर्न लागिएको प्रदर्शनीले आयातलाई प्रतिस्थापन गर्दै निर्यातलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने सङ्घका अध्यक्ष मदन घिमिरेले जानकारी दिए। प्रदर्शनीमा उत्पादन तथा सेवामूलक उद्योगको लागि उपयोगी हुने मेसिन तथा प्रविधिको प्रदर्शनी गरिने छ। हस्तकला, गार्मेन्ट, निर्माणजन्य सामग्रीहरू, प्लाष्टिक, प्रिन्टिङ, प्याकेजिङ, कृषि, ऊर्जालगायतका उत्पादनलाई सहयोग पुग्ने सामग्रीको प्रदर्शनी गरिने छ। प्रदर्शनीमा सातवटै प्रदेशका स्टलहरू रहने छन्। राष्ट्रिय आविष्कार केन्द्रको प्रविधि तथा मेसिनरीको स्टल र मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध उद्योगसमेत स्टलमा रहने जानकारी उनले दिए। एक सय वटा स्टल रहने प्रदर्शनीमा २५ हजारभन्दा बढी उद्योगी, व्यवसायीको सहभागिता रहने अपेक्षा आयोजकले गरेको छ। अहिले नेपालमा उत्पादित सामग्री भारत, इथोपिया, श्रीलङ्काजस्ता देशमा पुगेको भन्दै उत्पादित वस्तुको बजारीकरणमा समेत सहयोग पुग्ने उनले बताए। राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पहुँचका लागि वातावरण तयार गर्न नेपालको वर्तमान औद्योगिक अवस्था र भावी गन्तव्य विषयमा प्रदर्शनीका क्रममा छलफल गरिने छ। युवाहरूलाई उद्यमशीलतातर्फ प्रेरित गर्न, रोजगारी वृद्धि र स्थानीय स्रोतसाधनको अधिकतम उपयोगमार्फत स्वदेशी उद्योगको उन्नति एवं समृद्ध राष्ट्र निर्माणका लागि प्रदर्शनी सहयोगी बन्ने सो अवसरमा जानकारी दिइयो।

News by अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी चैत २७ देखि सुरु हुने :