काठमाडौं– गृहमन्त्री सुधन गुरुङले फेवातालको जग्गामा आफू नै ठगिएको भन्दै न्यायका लागि अदालत जाने बताएका छन्।
फेवातालको किनारमा ’एड्भेन्चर स्पोर्ट्स नेपाल’ सुरु गर्नका लागि मन्त्री गुरुङ सहित तीन जनाले जग्गा लिजमा लिएका थिए। उक्त जग्गा फेवातालको मापदण्ड बाहिर रहेको भनेर आफूलाई झुक्याएर लिजमा दिइएको उनले बताएका छन्। फेवाताल अतिक्रमित गरिएको जग्गा स्वयं गृहमन्त्रीले लिजमा लिएको भेटिएपछि उनी विवादमा तानिएका छन्।
फेवाताल अतिक्रमित गरेर बनाइएका संरचनामा पोखरा महानगरले भत्काउन थालेपछि मन्त्री गुरुङले स्पष्टीकरण दिएका छन्। ‘हामीलाई जग्गाधनीहरूले उक्त जग्गा ६५ मिटरको मापदण्डभित्र पर्दैन भनी विश्वास दिलाएका थिए । लालपूर्जामा समेत जग्गा सुरक्षित रहेको भनी देखाए। तर, पछि नगरपालिकाबाट बुझ्दा त्यो त मापदण्डभित्र पर्ने रहेछ,’ मन्त्री गुरुङले भनेका छन्। अतिक्रमित जग्गा भन्ने तथ्य लुकाई झुक्याइ लिजमा दिँदा आफू सहित साझेदार ठगिएको गुरुङको दाबी छ।
अतिक्रमित जग्गा आफूहरुलाई झुक्याएर लिजमा दिएको जानकारी प्राप्त हुनासाथ निर्माण कार्य र लगानी रोकेको मन्त्री गुरुङले दाबी गरे । मन्त्री गुरुङले ठगीविरुद्ध कानुनी उपचार खोज्ने बताएका छन्। ‘हामीलाई पर्न गएको यो अन्याय र ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्ने जानकारी गराउँदछु,’ गुरुङले भने।