चैतन्य सम्बाददाता, Author at Chaitanya News
  • 2026-11-21
  • 20:19:22
  • शनिबार,मंसिर ०६, २०८३

About Author

राजनीतिक अन्योल चिर्न कम्युनिष्ट पार्टीले नेतृत्व गर्नुपर्छ : माधव नेपाल

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा देखिएको राजनीतिक अन्योल अन्त्य गर्दै नेपालको राजनीतिलाई सही दिशामा अघि बढाउने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको बताएका छन्। अन्य राजनीतिक दलहरू आन्तरिक समस्या र विभाजनको चुनौतीमा फसिरहेको अवस्थामा नेपाली कम्युनिष्ट पार्टीले देशको रूपान्तरणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ। शनिबार भक्तपुरमा नेपाली कम्युनिष्ट पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै नेपालले देश, जनता र समाजप्रतिको जिम्मेवारीबोध गर्दै पार्टीले राजनीतिक तथा सामाजिक परिवर्तनको अगुवाइ गर्नुपर्ने बताए। उनले अहिले विभिन्न राजनीतिक दलहरू आफ्नै आन्तरिक समस्यामा अल्झिएको र कतिपय दल विभाजनको अवस्थामा पुगेको टिप्पणी गरे। यस्तो परिस्थितिमा नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आशा र अपेक्षा बढेको उनको दाबी थियो। नेपालले आफ्नो पार्टीमा तीन जना पूर्वप्रधानमन्त्री रहेको उल्लेख गर्दै पार्टीको राजनीतिक अनुभव र विगतको भूमिकाले मुलुकलाई सही दिशामा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक इतिहासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराउँदै उनले पार्टीले आफ्नो जिम्मेवारीबाट पछि हट्न नहुने बताए। उनले राजनीतिक परिवर्तनको आधार न्याय र समानता हुनुपर्नेमा जोड दिए। समाजमा हुने अन्यायविरुद्ध आवाज उठाउने मात्र नभई अरूलाई पनि अन्यायका विरुद्ध बोल्न प्रेरित गर्नु कम्युनिष्टहरूको दायित्व भएको उनको भनाइ थियो । न्यायपूर्ण समाज निर्माणका लागि पार्टी आफैँले अगुवाइ गर्नुपर्ने उनले बताए। नेपालले मुलुकको रूपान्तरणका लागि राजनीतिक नारा र आश्वासन मात्र पर्याप्त नहुने उल्लेख गर्दै नयाँ समाज निर्माणको स्पष्ट परिकल्पना आवश्यक रहेको बताए । त्यसका लागि दीर्घकालीन सोच, ठोस योजना र प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको उनको धारणा थियो। नयाँ समाजको सपना देख्ने, त्यसको खाका तयार गर्ने र त्यसलाई व्यवहारमा उतार्न योजनाबद्ध रूपमा अघि बढ्ने व्यक्तिले मात्रै वास्तविक परिवर्तनको नेतृत्व गर्न सक्ने उनले बताए। उनले पार्टीका नेता तथा कार्यकर्तालाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश, जनता र समाजको हितमा काम गर्न आग्रह गरे । मुलुकको राजनीतिक दिशा परिवर्तन गर्दै सामाजिक न्याय र रूपान्तरणको लक्ष्य हासिल गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्नेमा उनले जोड दिए।

News by राजनीतिक अन्योल चिर्न कम्युनिष्ट पार्टीले नेतृत्व गर्नुपर्छ : माधव नेपाल :