काठमाडौँ– नेपालीहरूको प्रमुख पर्व बडादसैँलाई पर्यटन प्रवर्द्धनसँग जोड्दै नेपाल पर्यटन बोर्डले देशका विभिन्न पर्यटकीय गन्तव्यमा लिंगे पिङ सञ्चालन गर्ने भएको छ। मौलिक संस्कृति र परम्परालाई पर्यटकीय गतिविधिसँग जोडेर गन्तव्यमा दसैँको आकर्षण बढाउने उद्देश्यले पिङ निर्माण गर्न लागिएको हो। बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाका अनुसार काठमाडौँ उपत्यकासहित देशका विभिन्न पर्यटकीय क्षेत्रमा स्थानीय तह र पर्यटनसम्बद्ध संघसंस्थासँगको सहकार्यमा पिङ निर्माण तथा सञ्चालन गरिनेछ। यसका लागि ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, ठमेल पर्यटन विकास समिति, हिमालयन उद्धार संघ, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), होटल संघ नेपाल, होटल व्यवसायी महासंघलगायत विभिन्न प्रदेशका होटल तथा पर्यटन व्यवसायी संघसंस्थासँग सहकार्य गरिएको छ। सम्झौताअनुसार पर्यटकको आवागमन बढी हुने तथा सांस्कृतिक गतिविधिका लागि उपयुक्त स्थानमा लिंगे पिङ निर्माण गरिनेछ। दसैँ अवधिभर सञ्चालन हुने पिङले स्थानीय संस्कृति र परम्परालाई पर्यटकसँग जोड्ने अपेक्षा बोर्डको छ। पिङ निर्माण तथा सञ्चालनका क्रममा सुरक्षा मापदण्ड, भीड व्यवस्थापन र दुर्घटना न्यूनीकरणका उपाय अनिवार्य रूपमा अपनाउनुपर्ने व्यवस्था गरिएको छ। सम्बन्धित स्थानीय तह तथा संस्थाले पिङ सञ्चालनस्थलको सुरक्षा र व्यवस्थापनमा समेत ध्यान दिनुपर्नेछ। दसैँको कार्यक्रम सकिएपछि निर्माण गरिएका पिङ हटाएर सम्बन्धित स्थानलाई पूर्ववत् अवस्थामा फर्काउने जिम्मेवारीसमेत सहकार्य गर्ने पक्षको हुने सम्झौतामा उल्लेख छ। बोर्डले मौलिक चाडपर्व र संस्कृतिलाई पर्यटकीय अनुभवसँग जोडेर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले यस्तो कार्यक्रम अघि बढाएको जनाएको छ।


