चैतन्य सम्बाददाता, Author at Chaitanya News
  • 2026-11-21
  • 09:36:11
  • शनिबार,मंसिर ०६, २०८३

About Author

चिया पर्यटन प्रवर्द्धन गर्न कन्याममा आजदेखि दुई दिने महोत्सव

इलाम– चियाको पहिचानलाई पर्यटनसँग जोड्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले इलामको कन्याममा आजदेखि दुई दिने ‘प्रथम सूर्योदय चिया महोत्सव–२०८३’ सुरु हुँदैछ। सूर्योदय नगरपालिकास्थित कन्याममा आयोजना हुने महोत्सवमार्फत चिया पर्यटनको प्रवर्द्धनसँगै निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गरिने भएको छ। सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको साझेदारीमा आयोजना हुने महोत्सवको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री खिनु लङ्वा (लिम्बू) ले गर्ने कार्यक्रम रहेको छ। महोत्सव व्यवस्थापन समिति संयोजक एवं सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा उगेन लामाका अनुसार चियाको उत्पादन र बजारीकरणसँगै यसलाई पर्यटकीय आकर्षणका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। महोत्सवमा १० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक सहभागी गराउने आयोजकको अपेक्षा छ। आइतबारसम्म सञ्चालन हुने महोत्सवमा चियासम्बन्धी अन्तरसंवाद, चिया प्रवर्द्धन तथा स्वाद परीक्षण, चियाबारी पदयात्रा, स्थानीय खानाका परिकारको प्रदर्शनी र सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ। साथै ‘टि ट्रेल रेस’ प्रतियोगितासमेत आयोजना हुनेछ। प्रतियोगितामा पुरुषतर्फ १२ दशमलव पाँच किलोमिटर र महिलातर्फ नौ किलोमिटर दूरीको दौड हुनेछ। पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। महिलातर्फ विजेताले २० हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन्। महोत्सवमा सूर्योदय नगरपालिका क्षेत्रमा उत्पादित विभिन्न ब्राण्डका चियाको प्रदर्शनी, स्वाद परीक्षण तथा बजारीकरणको व्यवस्था पनि गरिनेछ। स्थानीय खाद्य परिकारका कक्षले महोत्सवमा आउने पर्यटकलाई स्थानीय स्वादको अनुभव गराउनेछन्। यसैबीच, सूर्योदय नगरपालिका वडा नं ७ कन्यामदेखि वडा नं ५ श्रीअन्तुसम्म २५ दशमलव पाँच किलोमिटर लामो चिया पदमार्ग निर्माण भइरहेको छ। सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र स्वीस सरकारको सहयोगमा सञ्चालित पदमार्गमा आधारित पर्यटन विकास परियोजनाअन्तर्गत निर्माण भइरहेको उक्त पदमार्गको प्रचारप्रसार गर्नु पनि महोत्सवको प्रमुख उद्देश्य हो। महोत्सव सञ्चालनका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सूर्योदय नगरपालिका–७ मा रहेको कन्याम हरियाली चियाबारी, प्राकृतिक सौन्दर्य र रमणीय वातावरणका कारण इलामको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। वनभोज, घोडचढी, फोटो तथा भिडियो खिच्ने र प्राकृतिक दृश्यावलोकनका लागि यहाँ दैनिक ठूलो सङ्ख्यामा पर्यटक पुग्ने गर्छन्। मेची राजमार्गसँग जोडिएको कन्याम झापाको चारआलीबाट करिब एक घण्टाको यात्रामा पुग्न सकिन्छ।

News by चिया पर्यटन प्रवर्द्धन गर्न कन्याममा आजदेखि दुई दिने महोत्सव :