चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 156 of 1151
  • 2026-11-21
  • 10:39:39
  • शनिबार,मंसिर ०६, २०८३

About Author

काँकरभिट्टा स्थलमार्ग हुँदै एक वर्षमा भित्रिए ८६ देशका ९ हजार पर्यटक, भुटान र अमेरिकी नागरिक धेरै

भद्रपुर (झापा)– नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष २०८२–८३ मा नौ हजार ४४७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन कार्यालय काँकरभिट्टाका निमित्त प्रमुख इन्द्रकुमार राजवंशीका अनुसार उक्त अवधिमा दैनिक सरदर २६ जना विदेशी पर्यटक यो नाका भएर नेपाल प्रवेश गरेका हुन्। छिमेकी मुलुक भारतका नागरिकका लागि भिसा अनिवार्य नभएकाले यो तथ्याङ्कमा भारतीय पर्यटकको सङ्ख्या समावेश गरिएको छैन। नाकाबाट कुल ८६ देशका नागरिक आवतजावत गरे पनि सबैभन्दा बढी भुटानी पर्यटक भित्रिएका छन्। कुल आगमनको ५३ प्रतिशतअर्थात् ४९९४ जना भुटानी नागरिक रहेका छन्। यस्तै, दोस्रो स्थानमा अमेरिकाका नागरिक रहेका छन्, जहाँबाट २३ प्रतिशत अर्थात् २१५२ जना अमेरिकी पर्यटक भित्रिएका निमित्त प्रमुख राजवंशीले जानकारी दिए। कार्यालयको तथ्याङ्कअनुसार पूर्वी नाकामा पुस र माघ महिनालाई मुख्य पर्यटकीय यामको रूपमा लिइएको छ। सबैभन्दा बढी पुस महिनामा १८५० जना पर्यटक नेपाल भित्रिएका थिए भने सबैभन्दा कम भदौ महिनामा २१६ जना मात्र आएका थिए। पुस र माघ महिनामा भुटानमा जाडो बिदा हुने भएकाले त्यहाँका नागरिक झापा तथा वरपर रहेका आफन्त भेटघाट गर्न र पूर्वको पशुपतिनाथका रूपमा परिचित खोटाङको हलेसी महादेवको दर्शन एवं तीर्थयात्राका लागि आउने गरेकाले सो समयमा चाप बढेको निमित्त प्रमुख राजवंशीको भनाइ छ। अध्यागमन कार्यालयले सन् २०२४ अगस्टदेखि मात्र यस नाकाबाट पूर्ण रूपमा अध्यागमन सेवा सुरु गरेकाले धेरै विदेशी पर्यटकलाई यो नाका प्रयोग गर्नेबारे अझै पर्याप्त जानकारी भइनसकेको कार्यालयले जनाएको छ।

News by काँकरभिट्टा स्थलमार्ग हुँदै एक वर्षमा भित्रिए ८६ देशका ९ हजार पर्यटक, भुटान र अमेरिकी नागरिक धेरै :