काठमाडौँ– इतिहासविद् राजकुमार पोखरेलले कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रयोग, अप्रमाणित डिजिटल सामग्री र सरकारी निकायमा अभिलेख गोप्य राख्ने अभ्यासका कारण नेपालको इतिहास लेखन झन् जटिल बन्दै गएको बताएका छन्।
सोमवार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले इतिहास संरक्षणका लागि कानुनी तथा संस्थागत सुधार आवश्यक रहेको बताए।
उनका अनुसार परराष्ट्र मन्त्रालय, नेपाली सेना र नेपाल प्रहरीसँग रहेका ऐतिहासिक महत्वका अभिलेख लामो समयसम्म गोप्य राखिँदा कूटनीतिक र सुरक्षा इतिहासको अध्ययनमा ठूलो अवरोध सिर्जना भएको छ। उनले निश्चित समयपछि यस्ता अभिलेख राष्ट्रिय अभिलेखालय वा इतिहास संरक्षण गर्ने निकायलाई हस्तान्तरण गर्नुपर्ने व्यवस्था गर्न आग्रह गरे।
पोखरेलले विदेशमा गोप्य अभिलेख निश्चित अवधिपछि स्वतः सार्वजनिक गर्ने अभ्यास रहेको उल्लेख गर्दै नेपालमा भने दशकौँ पुराना दस्ताबेजसमेत अध्ययनका लागि सहज रूपमा उपलब्ध नहुनु चिन्ताको विषय भएको बताए। चार दशकअघि समाप्त भएको पञ्चायती व्यवस्थासम्बन्धी अभिलेखसमेत पहुँचबाहिर रहनु इतिहास अनुसन्धानका लागि बाधक बनेको उनको भनाइ थियो।
उनले युट्युबलगायत डिजिटल माध्यममा प्रसारित सामग्रीलाई इतिहासको स्रोत मान्नुअघि वैज्ञानिक परीक्षण आवश्यक पर्ने उल्लेख गर्दै एआईको युगमा वास्तविक र गलत सामग्री छुट्याउन अझ कठिन बन्दै गएको बताए।
उनले अप्रमाणित ऐतिहासिक व्याख्या र भ्रम फैलिन नदिन सरकारले आवश्यक कानुन निर्माण गरी प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए।