चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 474 of 1152
  • 2026-11-22
  • 11:52:15
  • आइतबार,मंसिर ०७, २०८३

About Author

गृहमन्त्री अर्यालले भने: ‘वर्तमान सरकारमा रहेका मन्त्रीहरूलाई कुनै दलप्रति ढल्कने छुट छैन’

काठमाडौँ– गृहमन्त्री ओम प्रकाश अर्यालले वर्तमान सरकारमा रहेका मन्त्रीहरूलाई कुनै पनि दलप्रति ढल्कने छुट नरहेको बताएका छन्। आज (शुक्रबार) ललितपुरमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रमा मन्तव्य राख्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले सरकारको भूमिका पूर्ण रूपमा निष्पक्ष हुनुपर्नेमा जोड समेत दिएका छन्। गृह मन्त्रालय तथा बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित गोष्ठीमा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बहादुर बानिया, प्रदेशका आन्तरिक मामिला मन्त्रीलगायत सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको छ। गृहमन्त्री अर्यालले वर्तमान सरकारसँग दुईवटा प्रमुख म्यान्डेट रहेको बताएका छन्। पहिलो, तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने र दोस्रो, जेन जेड जनआन्दोलनबाट प्राप्त सुशासन कायम गर्ने म्यान्डेट रहेको उनको भनाइ छ। पहिलो म्यान्डेटअनुसार सरकार निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको उल्लेख गर्दै उनले तोकिएकै मितिमा निर्वाचन हुनेमा शंका नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्। त्यस्तै, दोस्रो म्यान्डेट सुशासन कायम गर्न केन्द्रित रहेको बताउँदै गृहमन्त्री अर्यालले सरकार त्यसतर्फ प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। तोकिएको मितिमा निर्वाचन सम्पन्न नभए देशले संकटको सामना गर्न सक्ने अवस्था आउन सक्ने उल्लेख गर्दै उनले सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने दाबी गरेका छन्। साथै, सरकारले गरिरहेका कामप्रति हौसला प्रदान गरी सरकारको मनोबल बढाइदिन पनि उनले सबै सरोकारवालालाई आग्रह गरेका छन्। कार्यक्रमका विशिष्ट अतिथि मुख्यमन्त्री ईन्द्र बहादुर बानियाले सरकारमा रहेका मन्त्रीहरूको गतिविधिले निर्वाचनको वातावरण बिग्रन सक्नेप्रति सचेत गराएका छन्। स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई आवश्यक साधन–स्रोतले सुसज्जित बनाउनुपर्नेमा उनले जोड दिएका छन्। मुख्यमन्त्री बानियाले यसपटकको निर्वाचनमा विगतजस्तो भय र त्रासको वातावरण नभए पनि अविश्वासको अवस्था भने कायम रहेको बताएका छन्। कृतिम बौद्धिकता, इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोगबाट फैलिन सक्ने भ्रामक समाचारले आसन्न निर्वाचनमा पार्न सक्ने प्रभावप्रति गृह मन्त्रालय र सुरक्षा निकायलाई सतर्क रहन उनले आग्रह गरेका छन्।

News by गृहमन्त्री अर्यालले भने: ‘वर्तमान सरकारमा रहेका मन्त्रीहरूलाई कुनै दलप्रति ढल्कने छुट छैन’ :