चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1068 of 1107
  • 2026-10-08
  • 04:49:21
  • बुधबार,आश्विन २१, २०८३

About Author

साउदीमा ३५ नेपाली ७६ दिनदेखि अलपत्र

साउदी अरब– साउदीमा ३५ नेपाली ७६ दिनदेखि अलपत्र परेका छन्। यहाँ आएपछि पुनः सम्झौता गर्न लगाउँदा अस्वीकार गरेपछि कम्पनी र मेनपावर दुवैले बेवास्ता गरेको पीडित बताउँछन्। ‘नेपालमा सम्झौता १०००ं३०० गरे पनि साउदी पुगेपछि पुनः कम्पनीले प्रतिमहिना ८०० गर्न लागेको थियो’, पीडित भन्छन्। उनीहरू इफादा कम्पनीमा क्लिनर काम गर्न काठमाडौंमा रहेको टार्गेट एचआर मेनपावरबाट गत जुन २० मा यहाँ आएका थिए। ‘हामीलाई फिल्मी शैलीमा साउदीमा अलपत्र पारिँदै छ। २० जुनमा एयपोर्टमा उत्रिएका हामीलाई सम्बन्धित कम्पनी १६ घण्टापछि लिन आयो। एउटा रुममा १४ जनाभन्दा बढीका दरले व्यवस्था ग¥यो’, पीडित भन्छन्, ‘दुई दिनपछि मेडिकल गराएर सम्बन्धित कम्पनी र मेनपावर बेखबर रहे । केही दिनपछि पुनः तिमीहरूको इन्टरभ्यु छ भनी तयार रहन जानकारी दिँदै कम्पनीको फोरमेन बताउने एक इन्डियनले सामूहिक तस्बिर फोटो खिचेर गयो।’ त्यसपछि कुनै जानकारी नदिएको उनीहरू बताउँछन्। सम्बन्धित कम्पनीले सुरुमा २०० रियल र बस्न दिएको तर अन्य सेवासुविधासमेत नदिएकाले अहिले बिचल्ली अवस्थामा रहेको जनाइएको छ। उनीहरूले प्रतिव्यक्ति १ लाख ५० हजारदेखि २ लाखसम्म बुझाएका थिए। मेनपावरमा कार्यरत दीपक बस्नेतलाई १÷१ लाख बुझाएको र अन्य एजेन्टलाई ५० हजारभन्दा माथि बुझाएको पीडितहरूको भनाइ छ। मेनपावरले ‘सिधा कम्पनी भिजा हो र नेपालमा गरेको सम्झौताअनुसार सबै सुविधा प्राप्त हुनेछ’ भनेको उनीहरू सुनाउँछन्। यो घटनाको जानकारी रियादस्थित नेपाली राजदूतावासलाई दिइएको छ। दूतावासले सम्बन्धित मेनपावर र कम्पनीसँग छलफल गरी कामदारलाई सम्झौताअनुसार काम र सेवासुविधा दिन भनेको छ। सम्झौताअनुसार कामदारलाई काम र सेवासुविधा दिन नसके तत्काल स्वदेश फिर्ता पठाउने अल्टिमेटमसमेत उसले दिएको छ। अलपत्र नेपालीलाई सुजन घिमिरेले जन्मोत्सवको अवसरमा खाद्यान्न तथा आर्थिक सहयोग गरेका छन्। अन्य सहयोगीमा अन्तर संस्था समय समिति रियादका सपरिवार तथा नेपाली होटल लालीगुराँस छन्। रोजगारीका लागि साउदी आउने कामदारको संख्या बढ्दो छ। तर, सम्बन्धित कम्पनीले सम्झौताअनुसार सेवासुविधा नदिँदा र मेनपावरले कम्पनीका बारेमा आधिकारिक कार्यशैलीको ढाँचा नबुझ्दा उनीहरू विभिन्न समस्यामा परिरहेका छन्। समयमा तलब पाउँदैनन्। अकामा कार्ड, इन्स्योरेन्स कार्ड तथा अन्य सेवासुबिधासमेत पाउँदैनन्। जुन कारण कामदारहरू कम्पनी छोडेर भाग्ने क्रमसमेत बढ्दो छ।

News by साउदीमा ३५ नेपाली ७६ दिनदेखि अलपत्र :