चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 3 of 1113
  • 2026-10-12
  • 18:21:34
  • सोमबार,आश्विन २६, २०८३

About Author

घटस्थापनासँगै नवदुर्गाको आराधना सुरु, पहिलो दिन शैलपुत्रीको पूजा

काठमाडौँ– बडादसैँको पहिलो दिन आज आइतबार नवदुर्गामध्ये पहिलो स्वरूप माता शैलपुत्रीको पूजा आराधना गरिँदैछ। नवरात्रको पहिलो दिन शैलपुत्रीको उपासना गर्ने धार्मिक परम्पराअनुसार देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा भक्तजनले पूजाआजा गर्ने गर्छन्। ‘शैल’ को अर्थ हिमाल र ‘पुत्री’ को अर्थ छोरी हो। हिमालयकी छोरी पार्वतीलाई शैलपुत्री भनिएको हो। दुर्गा भवानीका नौ स्वरूपमध्ये पहिलो मानिने शैलपुत्रीलाई दाहिने हातमा त्रिशूल र देब्रे हातमा कमलको फूल लिएकी तथा वृषभ अर्थात् साँढेमा सवार देवीका रूपमा चित्रण गरिन्छ। मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार शैलपुत्री नवदुर्गाको पहिलो स्वरूप हुन्। धार्मिक मान्यताअनुसार उनको तेजस्वी स्वरूपको ध्यान र उपासनाले दुःख तथा सङ्कटबाट मुक्ति मिल्ने विश्वास गरिन्छ। शैलपुत्रीको पूजामा सेतो वस्त्र, सेतो फूल तथा कन्दमूल वा ऋतुअनुसारका फलफूल चढाउने परम्परा छ। नवरात्रका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ। प्रत्येक दिन दुर्गा भवानीको फरक स्वरूपको आराधना गर्ने धार्मिक मान्यता छ। नवरात्रको अवधिमा देशभरका विभिन्न शक्तिपीठमा भक्तजनको चहलपहल बढ्ने गर्छ। देवीको दर्शन, पूजाआजा र आराधनाका लागि भक्तजन शक्तिपीठ पुग्ने परम्पराले दसैँको धार्मिक र सांस्कृतिक महत्त्वलाई थप उजागर गर्छ।

News by घटस्थापनासँगै नवदुर्गाको आराधना सुरु, पहिलो दिन शैलपुत्रीको पूजा :