काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न भएको निर्वाचनको मतगणनालाई तीव्र बनाइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा २५ वटा समूह बनाएर विभिन्न पदको मतगणना एकसाथ अघि बढाइएको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार मतगणना व्यवस्थित र पारदर्शी रूपमा भइरहेको छ । उनका अनुसार दुई क्लस्टरको मतगणना बिहानै सम्पन्न भएको छ भने चार क्लस्टरमा गणना जारी छ । थप छ क्लस्टरको मतगणना सुरु गर्ने तयारी भइरहेको छ । निर्वाचन समितिका अनुसार जनसम्पर्कतर्फ दुई महिला र पाँच खुला गरी सात केन्द्रीय सदस्यको मतगणना सकिएको छ । त्यस्तै, पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य पदको मतगणना पनि सम्पन्न भइसकेको छ । हाल खुला सहमहामन्त्री, महिला सहमहामन्त्री तथा महिला केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ । आदिवासी जनजातितर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य पदमा पनि गणना जारी छ । यसैगरी, सुदूरपश्चिम प्रदेशबाट भूगोलतर्फका खुला, महिला र ३५ वर्षमुनिका केन्द्रीय सदस्य तथा ३५ वर्षमुनिका खुला केन्द्रीय सदस्य पदको मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ । अन्य क्लस्टरको मतगणना पनि क्रमशः सुरु गर्ने तयारी छ । दलिततर्फको सहमहामन्त्री, खुला, महिला र मधेसी दलित केन्द्रीय सदस्य तथा अल्पसङ्ख्यक र अपाङ्गतातर्फका सहमहामन्त्री र केन्द्रीय सदस्य पदको गणना हुन बाँकी छ । त्यस्तै, मधेसीतर्फको सहमहामन्त्री, खुला र महिला केन्द्रीय सदस्य तथा खस–आर्यतर्फको सहमहामन्त्री, खुला र महिला केन्द्रीय सदस्य पदको मतगणना पनि गर्न बाँकी छ । पेसागततर्फका खुला र महिला केन्द्रीय सदस्य पदको मतगणनाको तयारीसमेत भइरहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।


