चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 2 of 1156
  • 2026-11-23
  • 20:39:08
  • सोमबार,मंसिर ०८, २०८३

About Author

नेपाल–भारतबीच आठ क्षेत्रमा सहकार्य (सूचीसहित)

काठमाडौँ — नेपाल र भारतबीच प्रहरी अनुसन्धान, प्रशासनिक तालिम, स्वास्थ्य, सहरी विकासदेखि अन्तरिक्ष प्रविधिसम्मका आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भ्रमणको दोस्रो दिन विभिन्न आठ विषयमा समझदारी भएको हो। दुई देशबीच भएको समझदारीले सुरक्षा, प्रशासन, स्वास्थ्य सेवा, परम्परागत चिकित्सा, सञ्चार प्रविधि तथा कृषि र पशुपालन क्षेत्रको सहकार्यलाई समेटेको छ। समझदारीअनुसार नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग र भारतको गुजरातस्थित गान्धीनगरको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालयबीच फरेन्सिक विज्ञानसम्बन्धी अध्ययन तथा अनुसन्धानमा सहकार्य हुनेछ। यसबाट अपराध अनुसन्धान र वैज्ञानिक प्रमाणको परीक्षणमा दुवै पक्षबीच ज्ञान तथा अनुभव आदानप्रदान गर्ने बाटो खुल्नेछ। त्यसैगरी, भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच प्रहरी प्रशिक्षणसम्बन्धी समझदारी भएको छ। यसले प्रहरी जनशक्तिको क्षमता विकास तथा तालिममा सहकार्य गर्नेछ। प्रशासनिक क्षेत्रको क्षमता अभिवृद्धिका लागि भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेजबीच पनि समझदारी भएको छ। उक्त सहकार्यमार्फत नेपाली सरकारी अधिकारीहरूलाई विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिनेछ। स्वास्थ्य तथा उपचार पद्धतिका क्षेत्रमा पनि दुवै देशले सहकार्य गर्ने भएका छन्। आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा पद्धतिको विकास र प्रवर्द्धनका साथै स्वास्थ्य सेवा तथा चिकित्सासम्बन्धी क्षेत्रमा संयुक्त रूपमा काम गर्ने समझदारी भएको छ। सञ्चार तथा प्रविधितर्फ भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क निर्माण गर्ने विषयमा समझदारी भएको छ। त्यस्तै, दिगो सहरी विकासका क्षेत्रमा प्राविधिक सहकार्य गर्ने सहमति भएको छ। सहरी पूर्वाधार तथा विकासका विषयमा दुवै देशले अनुभव र प्राविधिक ज्ञान आदानप्रदान गर्नेछन्। यसका अतिरिक्त पशुपालन तथा मत्स्यपालन क्षेत्रको विकासका लागि पनि सहकार्य गर्ने समझदारी भएको छ। यी क्षेत्रमा प्रविधि, अनुभव तथा विकासका सम्भावनाबारे दुवै देशले मिलेर काम गर्नेछन्। प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भएका आठ समझदारीले नेपाल–भारतबीचको सहकार्यलाई विभिन्न नयाँ क्षेत्रमा विस्तार गर्ने आधार तयार गरेको छ। सुरक्षा र प्रशासनदेखि स्वास्थ्य, प्रविधि तथा उत्पादनमूलक क्षेत्रसम्म समेटिएका यी समझदारीको कार्यान्वयनले दुई देशबीचको संस्थागत सम्बन्धलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ। नेपाल–भारतबीच समझदारी भएका आठ क्षेत्र: १. फरेन्सिक विज्ञानमा अध्ययन तथा अनुसन्धान सहकार्य २. प्रहरी प्रशिक्षण तथा क्षमता अभिवृद्धि ३. प्रशासनिक अधिकारीहरूको तालिम ४. आयुर्वेद तथा परम्परागत चिकित्सा ५. दक्षिण एसिया स्याटेलाइटमार्फत सञ्चार नेटवर्क ६. दिगो सहरी विकासमा प्राविधिक सहकार्य ७. स्वास्थ्य सेवा तथा चिकित्सा क्षेत्र ८. पशुपालन तथा मत्स्यपालन विकास

News by नेपाल–भारतबीच आठ क्षेत्रमा सहकार्य (सूचीसहित) :