आर्थिक सुधारको मार्गचित्रअनुसार कानून संशोधन अघि बढाइएको मन्त्री गौतमको भनाइ - Chaitanya News
  • 2026-11-23
  • 13:47:25
  • सोमबार,मंसिर ०८, २०८३
  • आर्थिक सुधारको मार्गचित्रअनुसार कानून संशोधन अघि बढाइएको मन्त्री गौतमको भनाइ

    आर्थिक सुधारको मार्गचित्रअनुसार कानून संशोधन अघि बढाइएको मन्त्री गौतमको भनाइ

    काठमाडौँ — आर्थिक गतिविधिमा देखिएका कानुनी जटिलता हटाउँदै नागरिक तथा व्यवसायीको आर्थिक स्वतन्त्रता बढाउने उद्देश्यले सरकारले पुराना र असान्दर्भिक कानून खारेज तथा संशोधनको प्रक्रिया अघि बढाएको छ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आर्थिक सुधारलाई प्राथमिकता दिँदै नियन्त्रणमुखी र वर्तमान अवस्थामा औचित्य गुमाएका कानुनी व्यवस्था हटाउन खोजिएको स्पष्ट पारेकी छन्।

    सोमबार अर्थसम्बन्धी केही नेपाल ऐनलाई संशोधन र खारेज गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभाको अर्थ समितिमा भएको छलफलमा मन्त्री गौतमले प्रस्तावित विधेयकको उद्देश्य र व्यवस्थाबारे जानकारी गराउँदै सरकारले आर्थिक सुधारको मार्गचित्रअनुसार कानुनी सुधार अघि बढाएको बताइन्।

    उनका अनुसार उच्चस्तरीय आर्थिक सुझाव आयोगको प्रतिवेदन ‘आर्थिक सुधारको मार्गचित्र, २०८१’ ले नागरिक तथा व्यवसायीको आर्थिक स्वतन्त्रता सीमित गर्ने, व्यवसाय सञ्चालनको लागत बढाउने, कार्यान्वयनका क्रममा दुरुपयोग हुन सक्ने र अनावश्यक नियन्त्रणमुखी प्रकृतिका कानून खारेज गर्न सिफारिस गरेको थियो। सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा पनि पुराना तथा असान्दर्भिक कानून खारेज गर्ने र आवश्यक कानून संशोधन गर्ने नीति समेटिएको उनले जानकारी दिइन्।

    सरकारले अर्थ मन्त्रालयसँग सम्बन्धित विभिन्न ऐन तथा नियमावली खारेज गर्ने प्रस्ताव विधेयकमा समावेश गरेको छ। खारेजीका लागि प्रस्ताव गरिएका कानूनमा प्रादेशिक विकास आयोजना कार्यान्वयन गर्ने ऐन, २०७३, नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४, हवाई टिकट दस्तुर ऐन, २०१९, राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ र वित्तीय मध्यस्थताको काम गर्ने संस्था सम्बन्धी ऐन, २०५५ रहेका छन्। यसैगरी राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण नियमावली, २०७० पनि खारेज गर्ने प्रस्ताव गरिएको छ।

    कानुनी सुधारसँगै कर तथा भन्सार प्रशासनलाई व्यवस्थित बनाउन मूल्य अभिवृद्धि कर ऐन, २०५२, आयकर ऐन, २०५८ र भन्सार ऐन, २०८२ संशोधन गर्न खोजिएको मन्त्री गौतमले बताइन्।

    प्रस्तावित व्यवस्थाले व्यावसायिक मालसामानको ढुवानीलाई डिजिटल प्रणालीमा आबद्ध गर्ने लक्ष्य राखेको छ। मूल्य अभिवृद्धि कर ऐनमा संशोधन गरी व्यावसायिक मालसामान ढुवानीको विवरण अनलाइन प्रणालीमा प्रविष्ट तथा अद्यावधिक गर्नुपर्ने र ढुवानीका साधनमा जीपीएस जडान गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। यद्यपि, आवश्यकताअनुसार सम्बन्धित विभागले जीपीएस जडानमा छुट दिन सक्ने प्रावधान पनि राखिएको छ।

    उक्त व्यवस्थाको उल्लंघन गरेमा पहिलो पटक ५० हजार रुपैयाँसम्म र त्यसपछिका प्रत्येक पटक एक लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने प्रस्ताव गरिएको छ।

    त्यस्तै, आयकर ऐनमा संशोधन गरी गैरकर राजस्व नतिरेको वा नबुझाएको विषयमा नेपाल सरकारको निर्देशनअनुसार महानिर्देशकले छानबिन तथा अनुसन्धान गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। अनुसन्धानबाट थप गैरकर दायित्व निर्धारण भएमा त्यसको शतप्रतिशतसम्म जरिवाना असुल गर्न सकिने र सम्बन्धित निर्णयविरुद्ध प्रशासकीय पुनरावलोकन गर्न पाउने व्यवस्था पनि विधेयकमा समेटिएको छ।

    भन्सार प्रशासनको अधिकार विस्तार गर्ने विषयलाई पनि विधेयकले प्राथमिकता दिएको छ। प्रस्तावित संशोधनअनुसार भन्सार जाँचपास भइसकेका वस्तुको पुनः जाँच, अनुसन्धान तथा कारबाही गर्न सकिनेछ। भन्सार जाँच परीक्षण कार्यालयलाई भन्सार क्षेत्रभित्र र बाहिर हुन सक्ने चोरी निकासी तथा पैठारी नियन्त्रणका लागि जाँच, अनुसन्धान र कारबाही गर्ने अधिकार प्रदान गर्ने प्रस्तावसमेत गरिएको छ।

    यसैगरी राजस्व अनुसन्धान विभागमा अनुसन्धान भइरहेका वा अनुसन्धान पूरा भएर पनि मुद्दा दायर हुन बाँकी रहेका उजुरी सम्बन्धित निकायमा हस्तान्तरण गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। आयकर, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर तथा गैरकरसम्बन्धी उजुरी आन्तरिक राजस्व विभागमा पठाइनेछ भने चोरी निकासी तथा पैठारीसम्बन्धी उजुरी भन्सार विभागमा हस्तान्तरण गरिनेछ। विदेशी विनिमयसम्बन्धी कसुरका उजुरी भने सम्बन्धित अनुसन्धान अधिकारीसमक्ष पठाउने व्यवस्था प्रस्ताव गरिएको छ।

    राजस्व अनुसन्धान विभागमा रहेका अभिलेखसमेत अर्थ मन्त्रालयको निर्णयअनुसार सम्बन्धित निकायमा हस्तान्तरण गर्ने व्यवस्था विधेयकमा समावेश गरिएको मन्त्री गौतमले जानकारी दिइन्।

    सरकारले प्रस्ताव गरेका यी कानुनी सुधारबाट व्यवसाय सञ्चालनमा रहेका अनावश्यक अवरोध हट्ने, प्रशासनिक प्रक्रिया सहज हुने र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरेको छ। प्रस्तावित विधेयकमा रहेका व्यवस्था भने संसदीय प्रक्रिया पूरा भएपछि मात्र कार्यान्वयनमा आउनेछन्।