नयाँ दिल्लीः नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन शाह) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामदेखि भारतको अयोध्यासम्म सञ्चालन हुने रेल सेवाको उद्घाटन गरेका छन् । सोमबार भएको उच्चस्तरीय भेटवार्ताका क्रममा दुवै देशका प्रधानमन्त्रीले रेल सेवालाई हरियो झण्डा देखाएर शुभारम्भ गरेका हुन् । यससँगै नेपाल र भारतबीच धार्मिक, सांस्कृतिक तथा यातायात सम्पर्कलाई थप मजबुत बनाउने दिशामा महत्वपूर्ण कदम अघि बढेको छ ।
नेपालका प्रधानमन्त्री बालेन शाह दुईदिने औपचारिक भारत भ्रमणका क्रममा आइतबार नयाँ दिल्ली पुगेका थिए । प्रधानमन्त्री बनेपछि उनको यो पहिलो आधिकारिक द्विपक्षीय विदेश भ्रमण हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत पुगेका शाहले सोमबार भारतीय प्रधानमन्त्रीसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गरेका हुन् ।
दुई देशका प्रधानमन्त्रीबीच भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल भएको छ । विशेषगरी व्यापार, ऊर्जा, पारवहन, सीमापार कनेक्टिभिटी, लगानी तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर कुराकानी भएको भारतिय संचारमाध्यमले जनाएका छन् । दुवै देशबीच विद्यमान सहकार्यलाई थप विस्तार गर्दै आगामी दिनमा आर्थिक तथा सामाजिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विषयमा जोड दिइएको छ ।
जनकपुरधाम र अयोध्याबीच रेल सेवा सञ्चालनको शुभारम्भ यस भ्रमणको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । धार्मिक तथा सांस्कृतिक सम्बन्धले जोडिएका नेपाल र भारतका दुई महत्वपूर्ण स्थलबीच रेल सम्पर्क विस्तार हुनुले दुवै देशका नागरिक, विशेषगरी धार्मिक पर्यटक तथा तीर्थयात्रीलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ। जनकपुरधाम माता सीताको जन्मस्थलका रूपमा प्रसिद्ध छ भने भारतको अयोध्या भगवान् श्रीरामको जन्मभूमिका रूपमा परिचित छ । यी दुई धार्मिक सहरबीचको सम्पर्क विस्तारले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
प्रधानमन्त्री शाह भारत भ्रमणका क्रममा भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यस्तै भारतीय विदेशमन्त्री एस. जयशंकरसँग पनि उनको भेटघाट भएको छ । आइतबार भएको भेटमा जयशंकरले नेपालसँगको विशेष मित्रतालाई भारतले उच्च महत्व दिने बताएका थिए । उनले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन निरन्तर सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।
प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डल भारत पुगेको छ । प्रतिनिधिमण्डलमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बञ्जनकरलगायत उच्च सरकारी अधिकारी सहभागी छन्। सरकारी प्रतिनिधिमण्डलसँगै छुट्टै व्यावसायिक टोलीसमेत भारत भ्रमणमा गएको छ ।
भ्रमणका क्रममा ऊर्जा सहकार्यसँग सम्बन्धित विभिन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको आधारशिला राख्ने विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ । शिक्षा, स्वास्थ्य, कृषि, अन्तरिक्ष, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासलगायतका क्षेत्रमा समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने तयारीसमेत रहेको बताइएको छ ।
नेपाल र भारतबीच ऊर्जा क्षेत्रको सहकार्य पछिल्लो समय महत्वपूर्ण बन्दै गएको छ । नेपालले उत्पादन गरेको अतिरिक्त जलविद्युत् भारतमा निर्यात गर्दै आएको छ। आगामी दिनमा विद्युत् व्यापार विस्तार, प्रसारण लाइन निर्माण तथा सीमापार ऊर्जा परियोजनालाई थप प्रभावकारी बनाउने विषयमा दुवै देशबीच सहकार्यको सम्भावना रहेको छ ।
त्यसैगरी प्रधानमन्त्री शाहले नेपाल–भारत बिजनेस फोरमलाई सम्बोधन गर्ने तथा भारतीय उद्योगी व्यवसायीसँग भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ । उक्त भेटको उद्देश्य नेपालमा लगानीका अवसर पहिचान गर्नु, विदेशी लगानी आकर्षित गर्नु र दुई देशबीच व्यापारिक सम्बन्ध विस्तार गर्नु रहेको छ ।
यसैबीच प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणअघि नेपालका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय हितलाई सर्वोच्च प्राथमिकतामा राखेर भारतसँग वार्ता गर्न सरकारलाई सुझाव दिएको थियो । पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले भ्रमणलाई नेपालका हित पूरा गर्ने र दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका थिए । विगतका सम्झौता कार्यान्वयन, लामो समयदेखि समाधान हुन नसकेका विषयको निरूपण तथा पारस्परिक लाभमा आधारित दीर्घकालीन सहकार्यमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।