काठमाडौं– भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच उपहार आदानप्रदान भएको छ। सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्ताका क्रममा दुवै देशका प्रधानमन्त्रीले एकअर्कालाई विशेष उपहार दिएका हुन्।
प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई पशुपतिनाथ मन्दिरको प्रसादस्वरूप रुद्राक्ष, शालिग्राम र पशुपतिनाथ मन्दिरको चन्दनसहितको उपहार सेट प्रदान गरेका छन्। कलात्मक काठको बट्टाभित्र सजाएर राखिएको उक्त उपहार शाहले व्यक्तिगत रूपमा दिएका हुन्।
प्रधानमन्त्री शाहको सचिवालय स्रोतका अनुसार मोदीलाई प्रदान गरिएको उक्त उपहार सेट व्यक्तिगत रहेको छ। त्यस्तै, नेपाली दूतावासका तर्फबाट पनि प्रधानमन्त्री मोदीलाई मच्छिन्द्रनाथसँग सम्बन्धित उपहार प्रदान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसैगरी, भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई गंगाजल राखिएको घडा उपहार दिएका छन्। दुई प्रधानमन्त्रीबीचको भेटवार्ताका क्रममा आपसी सम्बन्ध र सद्भाव झल्किने गरी उपहार आदानप्रदान गरिएको हो।
यसरी दुवै प्रधानमन्त्रीले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका उपहार साटासाट गरेका छन्।