काठमाडौँ — नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार भारतको राजधानी नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीच दुवै देशबीचका आपसी चासोका विषयमा छलफल भएको हो।
प्रधानमन्त्रीस्तरमा भएको उक्त वार्तामा नेपाल र भारतका मन्त्री, कूटनीतिक प्रतिनिधि, सुरक्षा अधिकारी तथा उच्च सरकारी पदाधिकारीहरूको सहभागिता रहेको थियो। दुवै देशका प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको हो।
वार्तामा सहभागी नेपाली प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार र राजनीतिक सल्लाहकार असीम शाह रहेका थिए।
त्यस्तै, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेसहितका अधिकारीहरू पनि बैठकमा सहभागी भएका थिए।
भारतीय पक्षबाट विदेशमन्त्री डा. एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र राज्यमन्त्री जितिन प्रसाद वार्तामा सहभागी भएका थिए। यसैगरी प्रधानमन्त्री मोदीका प्रधान सचिवद्वय डा. पी. के. मिश्रा र शक्तिकान्त दासको पनि उपस्थिति रहेको थियो।
त्यसैगरी भारतीय विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला तथा अतिरिक्त सचिव मनु महावरसहितका उच्च अधिकारीहरू पनि छलफलमा सहभागी थिए।
दुवै देशका प्रधानमन्त्रीसहित उच्चस्तरीय अधिकारीहरूको सहभागितामा सम्पन्न वार्तालाई नेपाल–भारत सम्बन्धका विविध विषयमा विचार आदानप्रदान गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
यद्यपि, बैठकमा उठेका विषय, छलफलका प्राथमिकता तथा वार्ताबाट निस्किएका निष्कर्षबारे दुवै पक्षले हालसम्म औपचारिक विवरण सार्वजनिक गरेका छैनन्।