काठमाडौँ– लोकसेवा आयोगको कठिन प्रतिस्पर्धात्मक परीक्षा उत्तीर्ण गरी शाखा अधिकृत पदमा सिफारिस भएका १३० भन्दा बढी उम्मेदवारलाई चैतन्य एकेडेमीले सम्मान गरेको छ। लोकसेवा तयारीका क्षेत्रमा लामो समयदेखि क्रियाशील चैतन्यले आफ्नो निरन्तर शैक्षिक अभियानलाई सामाजिक सम्मान र प्रोत्साहनसँग जोड्दै २५औँ शाखा अधिकृत बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको हो।
काठमाडौँस्थित इन्द्रेणी होटलमा आइतबार आयोजित विशेष समारोहमा लोकसेवा आयोगबाट विभिन्न सेवा समूहअन्तर्गत शाखा अधिकृत पदमा सिफारिस भएका उम्मेदवारलाई खादा, माला र टीका लगाएर सम्मान गरिएको थियो। पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा सार्वजनिक प्रशासनका अनुभवी व्यक्तित्व, पूर्वप्रशासक, प्रशिक्षक, शिक्षाविद् तथा नवनियुक्त शाखा अधिकृतहरूको उल्लेख्य उपस्थिति थियो।
चैतन्य एकेडेमीले विगत १३ वर्षदेखि निरन्तर सञ्चालन गर्दै आएको बधाई तथा शुभकामना कार्यक्रमको यो २५औँ शृङ्खला हो। लोकसेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षामा सफल हुने उम्मेदवारलाई सम्मान गर्दै उनीहरूलाई आगामी प्रशासनिक जिम्मेवारीका लागि प्रेरित गर्ने उद्देश्यले सुरु गरिएको यो अभियानले निरन्तरता पाउँदै आएको छ। यस अवधिमा एकेडेमीले हजारौँ विद्यार्थी तथा लोकसेवा परीक्षामा सफल उम्मेदवारलाई बधाई, शुभकामना र सम्मान प्रदान गरिसकेको जनाएको छ।
कार्यक्रममा सहभागी अतिथि तथा नवनियुक्त शाखा अधिकृतहरूले चैतन्य एकेडेमीले शैक्षिक क्षेत्रमा पुर्याउँदै आएको योगदानको खुलेर प्रशंसा गरे। उनीहरूले लोकसेवा तयारीलाई केवल परीक्षा उत्तीर्ण गराउने प्रक्रियामा सीमित नराखी योग्य, सक्षम, जिम्मेवार र नैतिकवान् जनशक्ति निर्माण गर्ने अभियानका रूपमा अघि बढाएको भन्दै संस्थाको प्रशंसा गरेका थिए।
कार्यक्रममा लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले नवनियुक्त शाखा अधिकृतहरूलाई बधाई दिँदै निजामती सेवामा प्रवेश गर्नु सफलता मात्र नभई ठूलो जिम्मेवारीको सुरुवात भएको बताए। उनले सार्वजनिक प्रशासनको छवि सुधार्ने जिम्मेवारी अब नयाँ पुस्ताका प्रशासकहरूको काँधमा आएको उल्लेख गर्दै नैतिकता, चरित्र र जिम्मेवारीबोधलाई सेवाको मूल आधार बनाउन आग्रह गरे।
उनले प्रशासकले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नागरिक र राष्ट्रको हितलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे। प्रशासनिक जिम्मेवारी प्राप्त गरेपछि अधिकारको प्रयोगभन्दा नागरिकप्रतिको उत्तरदायित्वलाई बढी महत्त्व दिनुपर्ने उनको सुझाव थियो। मैनालीले आफ्ना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशासनिक अनुभवसमेत साझा गर्दै नवनियुक्त अधिकृतहरूलाई व्यावसायिक दक्षता र इमानदारीका साथ अघि बढ्न प्रेरित गरेका थिए।

पूर्वसचिव गोपीनाथ मैनालीले सार्वजनिक प्रशासन नागरिकको भरोसाको केन्द्र हुनुपर्ने बताए। प्रशासनिक सेवामा प्रवेश गरेपछि कानुनको पालना, पारदर्शिता, जवाफदेहिता र नतिजामुखी कार्यसम्पादनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो। उनले प्रशासनिक क्षेत्रमा विभिन्न जटिलता र चुनौती आउने भए पनि धैर्यता, विवेक र निर्णय क्षमताका आधारमा समाधान खोज्नुपर्नेमा जोड दिए।

पूर्वसहसचिव प्रतीक ढकालले निजामती सेवालाई केवल जागिर वा वृत्तिविकासको माध्यमका रूपमा नबुझ्न आग्रह गरे। उनका अनुसार निजामती सेवा राष्ट्र निर्माणमा प्रत्यक्ष योगदान पुर्याउने महत्त्वपूर्ण अवसर हो। बदलिँदो समय र प्रविधिको विकाससँगै प्रशासकहरू पनि अध्ययनशील, सिर्जनशील र प्रविधिमैत्री हुनुपर्ने उनले बताए। सेवाग्राहीको आवश्यकता बुझेर प्रभावकारी सेवा प्रवाह गर्न सके मात्र प्रशासनप्रति नागरिकको विश्वास बढ्ने उनको धारणा थियो।

नेपाल सरकारका सचिव विजयकुमार शर्माले निजामती सेवामा प्रवेश गरेका अधिकृतहरूलाई पद र शक्तिभन्दा जिम्मेवारीलाई प्राथमिकता दिन सुझाव दिए। उनले नैतिकता, निष्ठा, उच्च मनोबल र जिम्मेवारीबोधलाई प्रशासनिक सेवाको आधारका रूपमा व्याख्या गर्दै पद प्राप्त गरेपछि घमण्ड नगरी सबै नागरिकलाई समान दृष्टिकोणले हेर्नुपर्ने बताए। सार्वजनिक पदमा बसेका व्यक्तिको व्यवहार र कार्यसम्पादनले नै राज्यप्रतिको नागरिकको धारणा निर्माण गर्ने उनको भनाइ थियो।

कार्यक्रममा पूर्वसहसचिव भिम रिजाल, भुवन भट्ट, विष्णुप्रसाद सापकोटा, डा. चिन्तामणि नाथ योगी, प्रशिक्षक सौगात ढकाल, समिता लामिछाने, हेमन्त ढुंगानालगायतले पनि सफल उम्मेदवारलाई बधाई तथा शुभकामना दिएका थिए। उनीहरूले चैतन्यले लामो समयदेखि लोकसेवा तयारी, क्षमता अभिवृद्धि र जनशक्ति विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए।

कार्यक्रममा एक नवनियुक्त शाखा अधिकृतहरूको अनुभव र प्रतिक्रिया थियो। लोकसेवा आयोगको कठिन प्रतिस्पर्धा पार गरेर सरकारी सेवामा प्रवेश गर्न सफल उम्मेदवारहरूले आफ्नो तयारी यात्रामा चैतन्य एकेडेमीको महत्त्वपूर्ण भूमिका रहेको बताए।
उनीहरूका अनुसार एकेडेमीको व्यवस्थित शिक्षण पद्धति, गुणस्तरीय तयारी कक्षा, अनुभवी प्रशिक्षकको मार्गदर्शन र निरन्तर अभ्यासले परीक्षामा सफल हुन ठूलो सहयोग पुर्याएको थियो। परीक्षामा सोधिने प्रश्नको उत्तर लेख्ने सीप विकाससँगै सार्वजनिक प्रशासनका सैद्धान्तिक र व्यावहारिक पक्ष बुझ्न पनि चैतन्यको शैक्षिक वातावरण उपयोगी बनेको उनीहरूको भनाइ थियो।
नवनियुक्त अधिकृतहरूले लोकसेवा तयारीका क्रममा प्राप्त गरेको ज्ञान परीक्षामा सफलता हासिल गर्न मात्र नभई भावी प्रशासनिक जिम्मेवारी निर्वाह गर्नसमेत उपयोगी हुने बताए। स्थानीय तहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशासनिक अभ्याससम्मका विषयमा अध्ययन र छलफल गर्ने अवसरले आफ्नो दृष्टिकोण फराकिलो बनाउन सहयोग पुगेको उनीहरूले उल्लेख गरे।
उनीहरूले चैतन्यले व्यावसायिक शैक्षिक गतिविधिलाई सामाजिक उत्तरदायित्वसँग जोडेर अघि बढाएको भन्दै प्रशंसा गरे। सफल उम्मेदवारलाई सम्मान गर्ने परम्पराले परीक्षाको तयारी गरिरहेका अन्य विद्यार्थीमा समेत सकारात्मक ऊर्जा र आत्मविश्वास पैदा गर्ने उनीहरूको धारणा थियो।


१३ वर्षको निरन्तरता, हजारौँ विद्यार्थीलाई प्रोत्साहन:
चैतन्य एकेडेमीले लोकसेवा आयोगको तयारीलाई संस्थागत र व्यवस्थित बनाउने उद्देश्यसहित विभिन्न तहका परीक्षार्थीलाई लक्षित गरेर शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। खरिदारदेखि सहसचिवसम्मका विभिन्न पदमा सिफारिस भएका उम्मेदवारलाई सम्मान तथा प्रोत्साहन गर्ने अभियानले संस्थाको छुट्टै पहिचान बनाएको छ।
एकेडेमीले विगत १३ वर्षदेखि सञ्चालन गर्दै आएको बधाई तथा शुभकामना कार्यक्रममार्फत अहिलेसम्म हजारौँ विद्यार्थी तथा सफल उम्मेदवारलाई सम्मान र शुभकामना प्रदान गरिसकेको छ। शाखा अधिकृत तहमा मात्रै २५औँ शृङ्खलासम्म कार्यक्रम आयोजना हुनु संस्थाको निरन्तरता र प्रतिबद्धताको उदाहरणका रूपमा प्रस्तुत गरिएको छ।
चैतन्यले सहसचिव, उपसचिव, शाखा अधिकृत, स्वास्थ्य सेवा, शिक्षक सेवा, प्रहरी सेवा तथा बैंकिङ क्षेत्रका लागि आवश्यक जनशक्ति उत्पादन र क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएको छ। त्यस्तै, नीति निर्माण, सार्वजनिक प्रशासन र सङ्गठनात्मक विकासका क्षेत्रमा समेत एक दशकभन्दा लामो समयदेखि काम गर्दै आएको संस्थाले जनाएको छ।

एकेडेमीले परीक्षाको तयारीलाई पाठ्यक्रम र प्रश्नोत्तरमा मात्र सीमित नराखी सार्वजनिक नीति, प्रशासनिक प्रणाली, समसामयिक विषय र व्यावहारिक ज्ञानमा समेत जोड दिँदै आएको छ। यसले परीक्षार्थीलाई प्रतिस्पर्धात्मक परीक्षाका लागि तयार पार्नुका साथै भविष्यमा जिम्मेवार सार्वजनिक सेवकका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।
शैक्षिक अभियानसँगै सामाजिक उत्तरदायित्वमा सक्रिय:
चैतन्य एकेडेमीको गतिविधि शैक्षिक प्रशिक्षण र लोकसेवा तयारीमा मात्र सीमित छैन। संस्थाले सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो कार्यक्षेत्रको महत्त्वपूर्ण हिस्साका रूपमा अघि बढाएको छ।
विभिन्न समयमा आवश्यक परेका स्थान र समुदायमा राहत सामग्री वितरण गर्दै आएको एकेडेमीले विपद् तथा संकटमा परेका नागरिकलाई सहयोग पुर्याउने सामाजिक काममा समेत सक्रियता देखाउँदै आएको छ। आवश्यकताअनुसार विभिन्न ठाउँमा राहत वितरण, सहयोग तथा सामाजिक अभियान सञ्चालन गर्दै आएको संस्थाले जनाएको छ।
त्यस्तै, कोरोना महामारीपछि लोकसेवा परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गरी प्रत्येक शनिबार निःशुल्क कक्षा सञ्चालन गर्दै आएको छ। आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई निःशुल्क शिक्षा तथा तयारीको अवसर उपलब्ध गराउने कार्यक्रम पनि संस्थाले सञ्चालन गरिरहेको छ।
शिक्षालाई व्यावसायिक गतिविधिमा मात्र सीमित नराखी अवसरबाट वञ्चित विद्यार्थीलाई समेत प्रतिस्पर्धामा सहभागी हुने वातावरण निर्माण गर्नु संस्थाको उद्देश्य रहेको एकेडेमीले जनाएको छ। शैक्षिक गुणस्तर, सामाजिक पहुँच र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउने प्रयासले संस्थाको कार्यक्षेत्रलाई थप फराकिलो बनाएको देखिन्छ।
कार्यक्रममा चैतन्य एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले नवनियुक्त शाखा अधिकृतहरूलाई बधाई दिँदै उनीहरूको सफलताले संस्थाको शैक्षिक अभियानप्रतिको विश्वास थप मजबुत बनाएको बताए।
उनले विद्यार्थीको मेहनत, प्रशिक्षकको मार्गदर्शन र संस्थाको व्यवस्थित तयारीको संयुक्त परिणामका रूपमा सफलतालाई व्याख्या गरे। लोकसेवा परीक्षामा सफलता हासिल गरेका उम्मेदवारलाई सम्मान गर्नु उनीहरूको मेहनतको कदर गर्नुका साथै आगामी जिम्मेवारीप्रति सचेत गराउने अवसर पनि भएको उनको भनाइ थियो।
जोशीले आगामी दिनमा पनि योग्य, सक्षम, नैतिकवान् र जिम्मेवार जनशक्ति उत्पादन गर्न एकेडेमीले गुणस्तरीय प्रशिक्षणलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। संस्थाले शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने उनले बताए।
उनका अनुसार सार्वजनिक प्रशासनमा प्रवेश गर्ने जनशक्ति ज्ञान र सीपले मात्र होइन, नैतिकता, इमानदारी र नागरिकप्रतिको सेवाभावले पनि सक्षम हुनुपर्छ। त्यसैले चैतन्यको शैक्षिक अभियान परीक्षामा सफलता दिलाउने लक्ष्यसँगै जिम्मेवार जनशक्ति निर्माणमा केन्द्रित रहेको उनले स्पष्ट पारे।

कार्यक्रममा सहभागी १३० भन्दा बढी नवनियुक्त शाखा अधिकृत, पूर्वप्रशासक, प्रशिक्षक तथा अतिथिहरूले चैतन्यको शैक्षिक र सामाजिक योगदानको प्रशंसा गर्दै यस्ता कार्यक्रमले नयाँ पुस्ताका प्रशासकलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका थिए।
१३ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको बधाई तथा शुभकामना कार्यक्रमको २५औँ शृङ्खला सम्पन्न हुनु चैतन्य एकेडेमीका लागि अर्को महत्त्वपूर्ण उपलब्धि बनेको छ। सफल विद्यार्थीलाई सम्मान गर्ने परम्परा, निःशुल्क शैक्षिक अ भियान, सामाजिक सहयोग र जनशक्ति विकासका गतिविधिमार्फत संस्थाले आफ्नो पहिचान विस्तार गर्दै लगेको छ।
लोकसेवा तयारीका क्षेत्रमा प्रतिस्पर्धात्मक सफलता हासिल गराउनुका साथै सार्वजनिक सेवामा प्रवेश गर्ने जनशक्तिलाई जिम्मेवारी, नैतिकता र सेवाभावको सन्देश दिनु कार्यक्रमको मुख्य उपलब्धिका रूपमा देखिएको छ।
हेर्नुहोस् तस्बिरहरु:
