काठमाडौँ— तेस्रो मुलुकसँगको आयात–निर्यात व्यापारलाई सहज बनाउन नेपालले भारतका थप दुई बन्दरगाह प्रयोग गर्न पाउने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतले गुजरातको कान्डला र उडिसाको पारादीप बन्दरगाह प्रयोगको पहुँच दिने घोषणा गरेको हो।
नेपालका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपाललाई उक्त बन्दरगाहको पहुँच उपलब्ध गराउने जानकारी दिएका हुन्।
यसअघि नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि उडिसास्थित धाम्रा र गुजरातको मुन्द्रा बन्दरगाह प्रयोग गर्न अनुमति माग्दै आएको थियो। यी दुई बन्दरगाह प्रयोग गर्ने विषयमा नेपाल र भारतबीच सन् २०१९ मै सहमति भएको थियो। यसपटक पनि धाम्रा र मुन्द्रा बन्दरगाहकै पहुँचका विषयमा सहमति हुने चर्चा चलेको थियो। तर अन्ततः दुवै राज्यका फरक बन्दरगाह कान्डला र पारादीप प्रयोग गर्न दिने सहमति भएको छ।
धाम्रा र मुन्द्रा बन्दरगाह दुवै निजी क्षेत्रको अडानी समूहले व्यवस्थापन गर्दै आएको छ। त्यसको विपरीत नेपालले पहुँच पाउने भएका कान्डला र पारादीप बन्दरगाह भारत सरकारको सञ्चालनमा रहेका छन्।
हाल नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि भारतका कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाह प्रयोग गर्दै आएको छ। पश्चिम बंगालस्थित कोलकाता र हल्दिया बन्दरगाहलाई नेपालले एउटै बन्दरगाह प्रणालीका रूपमा लिने गरेको छ। एउटै व्यापारिक मार्गमा रहेका यी बन्दरगाहमध्ये कोलकातामा साना जहाज र हल्दियामा ठूला जहाज आउने गर्छन्।
त्यसैगरी आन्ध्र प्रदेशस्थित विशाखापट्टनम बन्दरगाहबाट पनि नेपालले तेस्रो मुलुकसँग आयात–निर्यात गर्दै आएको छ।
नेपालले विद्यमान तीनवटा बन्दरगाहको विकल्प विस्तार गर्दै व्यापारिक पहुँच बढाउन लामो समयदेखि भारतसँग थप बन्दरगाह प्रयोगको अनुमति माग्दै आएको थियो। कान्डला र पारादीपको पहुँच उपलब्ध हुने भएपछि नेपालसँग तेस्रो मुलुकसँगको व्यापारका लागि थप दुई बन्दरगाहको विकल्प थपिने भएको छ।