काठमाडौँ– नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान पटक–पटक सर्दै अन्ततः शुक्रबार बिहान ७ बजेका लागि तय भएको छ। निर्वाचन सामग्री समयमै उपलब्ध हुन नसकेपछि निर्धारित समयमा मतदान सुरु हुन नसकेको हो। यसअघि बिहीबार बिहान १० बजेदेखि मतदान गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो। तर, समयमै प्रक्रिया अघि बढ्न नसकेपछि मतदानको समय तीनपटक संशोधन गर्दै दिउँसो साढे २ बजेसम्म पुर्याइएको थियो। निर्धारित नयाँ समयसम्म पनि मतदान सञ्चालन गर्न नसकिएपछि केन्द्रीय निर्वाचन समितिले शुक्रबार बिहान ७ बजेदेखि मतदान गर्ने गरी कार्यतालिका संशोधन गरेको हो। निर्वाचन समितिका अनुसार मतदानका लागि आवश्यक सामग्री छापाखानाबाट आउन ढिलाइ भएकाले बिहीबार निर्धारित कार्यतालिकाअनुसार मतदान गराउन नसकिएको हो। संशोधित कार्यतालिकाअनुसार महाधिवेशन प्रतिनिधिहरूले शुक्रबार बिहान ७ बजेदेखि मतदानमा सहभागी भई काँग्रेसको नयाँ नेतृत्व चयन गर्नेछन्।


