धनुषा– धनुषामा लामो समयदेखि अधुरा रहेका विकास आयोजना सम्पन्न गर्ने र नयाँ पूर्वाधार निर्माणलाई गति दिने विषयमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले चासो देखाएका छन्। उनले निर्माणाधीन तथा प्रस्तावित आयोजनाको स्थलगत अनुगमन गर्दै काममा ढिलाइ नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। मन्त्री लम्सालले बिहीबार धनुषा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत ढल्केबरको पोखरिया, इच्छापुर, नक्टाझिझ, रमदैया–सिर्सिया पुल तथा अन्दुपट्टी–कटरैत पुललगायत क्षेत्रको निरीक्षण गरेका हुन्। अनुगमनका क्रममा उनले सडक, पुल तथा अन्य भौतिक पूर्वाधार आयोजनाको वर्तमान अवस्था, निर्माण प्रगति र स्थानीय आवश्यकताबारे जानकारी लिएका थिए। लामो समयदेखि अलपत्र तथा निर्माणमा ढिलाइ भएका आयोजनालाई प्राथमिकताका साथ अघि बढाउन उनले प्राविधिक र प्रशासनिक निकायलाई निर्देशन दिए। विकासका योजना कागजमा मात्रै सीमित नराखी नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए। निर्माणको गुणस्तर र निर्धारित समयसीमालाई विशेष ध्यान दिन आग्रह गर्दै मन्त्री लम्सालले स्थानीय आवश्यकता र जनताको मागअनुसार विकास आयोजना सञ्चालन गर्नुपर्ने बताए। उनका अनुसार पूर्वाधार निर्माणमा ढिलाइ हुँदा नागरिकले पाउनुपर्ने सुविधा प्रभावित हुने भएकाले आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन आवश्यक छ। धनुषाको पूर्वाधार विकाससँगै जनकपुरधामलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा थप व्यवस्थित बनाउने विषयलाई पनि मन्त्री लम्सालले प्राथमिकता दिएका छन्। उनले जनकपुरधामको विकास, सौन्दर्यीकरण र धार्मिक पर्यटन प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार निर्माणका काम अघि बढाइएको जानकारी दिए। यसैक्रममा उनले जनकपुरधामस्थित मणिमण्डपको अवलोकन गर्दै त्यसको संरक्षण, पूर्वाधार विकास तथा पर्यटन प्रवर्द्धनका सम्भावनाबारे जानकारी लिए। मणिमण्डपलाई वैवाहिक गन्तव्यस्थलका रूपमा विकास गर्ने योजना रहेको उल्लेख गर्दै उनले यसको धार्मिक र सांस्कृतिक महत्त्वलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउनुपर्ने बताए। मणिमण्डपको व्यवस्थित विकास गर्न सके जनकपुरधामको धार्मिक पर्यटनमा नयाँ आकर्षण थपिने सरकारको अपेक्षा छ। यसले विवाह तथा धार्मिक पर्यटनका लागि विदेशी पर्यटकलाई समेत आकर्षित गर्न सक्ने सम्भावना रहेको मन्त्री लम्सालको भनाइ छ। त्यस्तै, उनले रामजानकी स्टेडियमको पनि निरीक्षण गरे। खेलकुद क्षेत्रको विकासका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण र स्तरोन्नति गर्नुपर्नेमा जोड दिँदै उनले स्टेडियमलाई व्यवस्थित तथा सुविधासम्पन्न बनाउन आवश्यक पहल गरिने बताए। मन्त्री लम्सालले मधेस प्रदेशको समग्र विकासलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै सडक, पुल, भवन र खानेपानीलगायतका पूर्वाधार निर्माणका लागि बजेटको व्यवस्था गरिएको जानकारी दिए। उनका अनुसार पुराना तथा अधुरा आयोजना सम्पन्न गर्नुका साथै स्थानीय आवश्यकताका आधारमा नयाँ योजना अघि बढाउने सरकारको प्राथमिकता रहेको छ। धनुषाका विभिन्न क्षेत्रमा गरिएको स्थलगत निरीक्षणले निर्माणाधीन आयोजनाको अवस्था पहिचान गर्न र स्थानीय आवश्यकताअनुसार विकासका काम अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


