चैतन्य सम्बाददाता, Author at Chaitanya News
  • 2026-10-07
  • 08:55:21
  • बुधबार,आश्विन २१, २०८३

About Author

नेपाल–रुस परामर्श बैठकमा सहकार्य विस्तारसँगै नेपाली नागरिक रुसी सेनामा भर्तीको विषय उठ्ने

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठकमा दुई देशबीचको सम्बन्ध तथा सहकार्य विस्तारका विषयसँगै नेपाली नागरिक रुसी सेनामा भर्ती भएको विषय पनि उठ्ने भएको छ। कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष मनाइरहेका बेला हुन लागेको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले गर्नेछन्। नेपाल भ्रमणमा रहेका रुसी उपविदेशमन्त्री आन्द्रेई रुडेन्कोले रुसी प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्। बैठकमा नेपाल–रुस सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्दै व्यापार, लगानी, पर्यटन, शिक्षा, संस्कृति तथा प्राविधिक सहयोगका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल हुनेछ। क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिला र बहुपक्षीय मञ्चमा दुई देशबीचको सहकार्यका विषय पनि बैठकमा उठ्नेछन्। यसका साथै रुसी सेनामा भर्ती भएका नेपाली नागरिक, बेपत्ता तथा मृत्यु भएका नेपालीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनेलगायतका विषयमा पनि नेपाली पक्षले रुसी प्रतिनिधिमण्डलसँग छलफल गर्ने अपेक्षा गरिएको छ। नेपाल र रुसबीच नियमित परामर्श तथा द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान गर्न सन् १९९५ मा परामर्शसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो। संयन्त्रको पहिलो बैठक सन् २००७ मा मस्कोमा र दोस्रो बैठक सन् २०१८ अप्रिल १७ मा काठमाडौँमा भएको थियो। यसैबीच, रुसी उपविदेशमन्त्री रुडेन्कोले मंगलबार साँझ रुसी दूतावासले आयोजना गरेको ‘ओपन डाइलग’मा नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै रुसले आवश्यक सहयोगका लागि सम्भव प्रयास गर्ने बताएका थिए। उनले प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिमबारे उठाएको विषयको प्रशंसा गर्दै जलवायु परिवर्तन विश्वका लागि ‘अलार्म बेल’ भएको बताए। रुडेन्कोले नेपालका विद्यार्थीलाई रुसमा उच्च शिक्षा अध्ययनका लागि आगामी शैक्षिक वर्षमा ५२ छात्रवृत्ति कोटा उपलब्ध गराउने जानकारीसमेत दिएका छन्। शिक्षा, संस्कृति तथा जनस्तरको सम्बन्धलाई नेपाल–रुस सम्बन्धको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै उनले यी क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। रुसी उपविदेशमन्त्रीको नेपाल भ्रमणलाई दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप सक्रिय बनाउने अवसरका रूपमा हेरिएको छ। बैठकमा समसामयिक द्विपक्षीय चासोका विषयसँगै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दामा सहकार्यका सम्भावनाबारे पनि छलफल हुने अपेक्षा गरिएको छ।

News by नेपाल–रुस परामर्श बैठकमा सहकार्य विस्तारसँगै नेपाली नागरिक रुसी सेनामा भर्तीको विषय उठ्ने :