- Chaitanya News
  • 2026-10-29
  • 22:08:27
  • बिहिबार,कार्तिक १३, २०८३
  • काठमाडौँ: कप्तान सोमपाल कामीको विस्फोटक ब्याटिङमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित निकालेको छ ।

    बिहीबार सम्पन्न खेलमा कर्णालीले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको हो । यसअघि कर्णालीले जनकपुरलाई १९ रनले हराएको थियो ।

    विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

    कर्णालीको जितमा कप्तान सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ६२ रन बनाए । उनले ३२ बलको सामना गर्दै आक्रामक पारी खेले । गुलशन झा २८ रनमा नटआउट रहे । पवन सर्राफले ३६ तथा दीपक डुम्रेले २० रनको योगदान दिए ।

    विराटनगरका बलर एन्जेलो म्याथ्युजले तीन विकेट लिए । चरिथ असलंका, प्रतिश जिसी र सन्दीप लामिछानेले एक–एक विकेट हात पारे ।

    त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनाएको थियो ।

    विराटनगरका ओपनर लोकेश बमले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ८७ रन जोडे । उनले ५२ बलमा ९ छक्का र ३ चौका प्रहार गरे । एन्जेलो डेभिस म्याथ्युजले ३१ तथा आन्द्रे रसेलले २७ रन बनाए ।

    कर्णालीका कप्तान सोमपाल कामीले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिए । नन्दन यादव र मार्क वाटले एक–एक विकेट लिए ।

    यसअघि विराटनगर चितवन राइनोजसँग ८ रनले पराजित भएको थियो । लगातार दोस्रो जितसँगै कर्णालीले प्रतियोगितामा आफ्नो लय कायम राखेको छ ।