व्यक्तिगत घटना दर्ताको विवरणबाट मतदाता नामावली प्रमाणीकरण गर्ने तयारी - Chaitanya News
  • 2026-10-29
  • 19:23:18
  • बिहिबार,कार्तिक १३, २०८३
  • व्यक्तिगत घटना दर्ताको विवरणबाट मतदाता नामावली प्रमाणीकरण गर्ने तयारी

    व्यक्तिगत घटना दर्ताको विवरणबाट मतदाता नामावली प्रमाणीकरण गर्ने तयारी

    काठमाडौं– निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका विवरणको शुद्धता कायम गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सूचना प्रणालीमा रहेका व्यक्तिगत घटना दर्तासम्बन्धी विवरण उपयोग गर्ने भएको छ। यसका लागि आयोग र विभागबीच सूचना आदानप्रदान गर्ने समझदारी भएको छ।

    कात्तिक १२ गते भएको समझदारीअनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आफ्नो व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीमा रहेका विवरण सुरक्षित प्राविधिक माध्यमबाट निर्वाचन आयोगलाई उपलब्ध गराउनेछ। आयोगले ती विवरण मतदाता नामावली अद्यावधिक तथा प्रमाणीकरणमा प्रयोग गर्नेछ।

    मतदाता नामावली अद्यावधिक प्रक्रियालाई सहज, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले दुई निकायबीच समझदारी गरिएको आयोगले जनाएको छ। सरकारी सूचना प्रणालीमा उपलब्ध विवरणको उपयोगबाट मतदाता नामावलीमा रहेका अभिलेख प्रमाणीकरण गर्ने कार्य थप विश्वसनीय हुने आयोगको अपेक्षा छ।

    समझदारीअनुसार विवरणको सुरक्षित आदानप्रदान र उपयोगका लागि आवश्यक प्राविधिक प्रणाली विकास गरिनेछ। साथै, तथ्याङ्कको सुरक्षा र गोपनीयता कायम राख्ने तथा कार्यान्वयनका क्रममा देखिन सक्ने प्राविधिक समस्या समाधान गर्ने व्यवस्था पनि मिलाइनेछ।

    यसका लागि दुवै निकायका प्रतिनिधि सम्मिलित संयुक्त प्राविधिक कार्यसमूह गठन गरिनेछ। कार्यसमूहले सूचना आदानप्रदान, प्रणाली सञ्चालन र प्राविधिक विषयमा आवश्यक समन्वय गर्नेछ।

    आयोगका अनुसार व्यक्तिगत घटना दर्तासम्बन्धी विवरणलाई मतदाता नामावली अद्यावधिक प्रक्रियासँग जोड्दा अभिलेखको शुद्धता कायम गर्न सहयोग पुग्नेछ। यसबाट निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग विस्तार हुनुका साथै विवरण प्रमाणीकरणको प्रक्रियासमेत थप व्यवस्थित हुने विश्वास गरिएको छ।

    समझदारी पत्रमा निर्वाचन आयोगका तर्फबाट सहसचिव राजेन्द्रकुमार केसी र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका तर्फबाट महानिर्देशक कृष्ण पौडेलले हस्ताक्षर गरेका छन्।

    दुई निकायबीचको यो समझदारीले सरकारी सूचना प्रणालीमा उपलब्ध व्यक्तिगत घटना दर्तासम्बन्धी विवरणलाई निर्वाचन व्यवस्थापनमा उपयोग गर्ने आधार तयार गरेको छ। विवरणको आदानप्रदान र प्रयोगलाई सुरक्षित तथा व्यवस्थित बनाउँदै मतदाता नामावली अद्यावधिक र प्रमाणीकरणको काम अघि बढाइनेछ।