काठमाडौं– मोइन अलीको अर्धशतक र राहुल यादवको उत्कृष्ट बलिङको मद्दतमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ । जनकपुरले काठमाण्डु गुर्खाजलाई ८ विकेटले पराजित गरेको हो ।
त्रिवि क्रिकेट मैदानमा काठमाण्डुले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो । पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा जितको खाता खोलेको हो ।
जनकपुरको जितमा ओपनिङ ब्याटर मोइन अलीले अविजित ५८ रन बनाए । उनले ५१ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै, सैफ हसन ३९ बलमा ४० रन बनाएर अविजित रहे ।
जनकपुरले ७ रनमा ओपनर तृतराज दास र ३७ रन पुग्दा मयन यादवको विकेट गुमाएको थियो । तृत ५ र मयन ९ रनमा आउट भएका थिए । त्यसपछि मोइन र हसनले तेस्रो विकेटका लागि ७९ रनको अविजित साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्याए । काठमाण्डुका रिपोन मोन्डलले एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डु १९ ओभर ३ बलमा ११५ रनमा समेटिएको थियो । काठमाण्डुलाई कम योगफलमा रोक्न जनकपुरका राहुल यादवले महत्वपूर्ण भूमिका खेले । उनले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए ।
राहुलले काठमाण्डुका दुवै ओपनर साम हिजलेट र स्मित पटेलसँगै कप्तान करण केसी तथा मोहम्मद आदिल आलमलाई आउट गरे । सैफ हसनले २ विकेट लिए भने मोइन अली, कप्तान हर्मीत सिंह र ललित राजवंशीले एक–एक विकेट लिए ।
काठमाण्डुका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । उनले २९ बलमा ४ चौका प्रहार गरे । रसिद खानले १७, स्मित पटेलले १३, सुमित महर्जनले १० र हरिशंकर शाहले ९ रन जोडे ।
काठमाण्डुले सुरुदेखि नै लगातार विकेट गुमाएको थियो । ६ रनमा साम हिजलेटलाई गुमाएको टोलीले १९ रन पुग्दा हरिशंकर शाहको विकेट गुमायो । त्यसपछि पनि ब्याटरहरूले ठूलो साझेदारी गर्न सकेनन् । कप्तान करण केसी ८, जहानदाद खान ५ र रिपोन मोन्डल ९ रनमा आउट भए । आदिल आलम पहिलो बलमै एनबीडब्लुको शिकार बने भने शाहव आलम ४ रनमा अविजित रहे ।
यससँगै जनकपुरले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । आजको दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।