धनगढीः युवाहरूमा वैज्ञानिक सोच, प्राविधिक सीप, सिर्जनशीलता तथा नवप्रवर्तन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले धनगढीमा मेकरस्पेस स्थापना गरिएको छ।
धनगढी उपमहानगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को साझेदारीमा सञ्चालित ‘ग्रिन ट्रान्जिसन पोर्टफोलियो’ अन्तर्गत मेकरस्पेस स्थापना गरिएको हो।
मेकरस्पेसमा रोबोटिक्स, डिजिटल फेब्रिकेसन उपकरण, नमुना उत्पादन (प्रोटोटाइप) निर्माण सुविधा तथा सहकार्यात्मक कार्यस्थल उपलब्ध गराइएको छ। यी सुविधाको उपयोग गर्दै युवाहरूले प्राविधिक सीप सिक्नुका साथै उद्यमशीलता, अध्ययन, अनुसन्धान र नवप्रवर्तनका क्षेत्रमा प्रयोगात्मक काम गर्न सक्नेछन्।
धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले मेकरस्पेसले युवाहरूलाई नयाँ प्रविधि सिक्न, सिर्जनात्मक विचारलाई व्यवहारमा उतार्न र प्रविधिमा आधारित नवीन परियोजना विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
धनगढी उपमहानगरपालिकाको कार्यालयअगाडि स्थापना गरिएको मेकरस्पेसको वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीले उद्घाटन गरेका हुन्।
मेकरस्पेस सञ्चालनमा आएसँगै सुदूरपश्चिमका युवाहरूले प्राविधिक सीप सिक्ने, नयाँ प्रविधिमा प्रयोग गर्ने र नवीन सोचलाई व्यावहारिक रूप दिने अवसर पाउनेछन्। यसले युवाहरूमा उद्यमशीलता र नवप्रवर्तनको संस्कृति विकास गर्न तथा प्रविधिमा आधारित नयाँ सम्भावना खोज्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।