धनगढीः कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका १५ वर्षीय आर्यन विश्वकर्मा अमेरिकी अन्तरिक्ष संस्था नासाले आयोजना गर्ने ‘नासा स्पेस एप्स च्यालेन्ज’ मा छनोट भएका छन्। कक्षा १० मा अध्ययनरत आर्यनको यो सफलतामा धनगढीस्थित चैतन्य पाठशालाको छात्रवृत्ति र प्रविधिमैत्री शैक्षिक वातावरणले महत्त्वपूर्ण भूमिका खेलेको छ।
सानैदेखि वैज्ञानिक बन्ने सपना देखेका आर्यनले कक्षा ८ मा पढ्दै गर्दा थर्मोकोल, तार, टेप र ब्याट्रीको प्रयोग गरेर रिमोट कन्ट्रोलबाट उडाउन मिल्ने नमुना हवाईजहाज बनाएका थिए। युट्युबमा हवाईजहाज उडेको भिडियो हेरेर निर्माण सुरु गरेका उनले करिब दुई महिनाको मेहनतपछि उक्त जहाज तयार पारेका थिए।
प्रत्यक्ष हवाईजहाजसमेत नदेखेका आर्यनले आमाले भारतबाट पठाइदिएका केही सामग्री र करिब २० हजार रुपैयाँ खर्च गरेर बनाएको जहाज एक हजार फिटसम्म उडाएका थिए। उनको यो प्रयोगले गाउँलेलाई चकित बनाएको थियो।
त्यसपछि उनले मेडिकल ड्रोन निर्माण गरेर चर्चा कमाए। अहिले उनी राहत वितरणमा प्रयोग गर्न सकिने ड्रोन निर्माणमा जुटिरहेका छन्।
आर्यनको प्रतिभाबारे समाचार प्रकाशित भएपछि धनगढीस्थित चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले उनलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएका छन्। विद्यालयले कक्षा ८ देखि १२ सम्मको सम्पूर्ण पढाइ खर्च तथा आवास सुविधासहित छात्रवृत्ति प्रदान गरेको हो।
चैतन्य पाठशालामा अध्ययनसँगै आर्यनले विज्ञान तथा प्रविधिको क्षेत्रमा आफ्नो अनुसन्धान र प्रयोगलाई निरन्तरता दिइरहेका छन्। अध्यक्ष जोशीका अनुसार विद्यालयको प्रविधिमैत्री विज्ञान प्रयोगशालामा आर्यन खाना खानसमेत बिर्सेर राति अबेरसम्म अध्ययन तथा अनुसन्धानमा खटिने गर्छन्।
संघर्षपूर्ण बाल्यकाल, वैज्ञानिक बन्ने सपना
आर्यनको सफलतापछाडि संघर्षपूर्ण बाल्यकाल र वैज्ञानिक बन्ने दृढ इच्छाशक्ति जोडिएको छ। उनी चार वर्षको हुँदा रोजगारीका लागि भारत गएका उनका बुवा भरत विश्वकर्माको करेन्ट लागेर मृत्यु भएको थियो। त्यसपछि उनकी आमा राजेश्वरी विश्वकर्माले छोराछोरीको पालनपोषण र पढाइ खर्च जुटाउन कठिन संघर्ष गर्नुपरेको छ।
हाल राजेश्वरी भारतको पुणेमा काम गरेर छोराछोरीको भविष्यका लागि आर्थिक जोहो गरिरहेकी छन्। यस्तो परिस्थितिका बाबजुद आर्यनले विज्ञान र प्रविधिको क्षेत्रमा आफ्नो रुचि तथा प्रतिभालाई अघि बढाइरहेका छन्।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबाट प्रभावित आर्यनले आफूले गरेका आविष्कार तथा अन्वेषणका विवरण अनलाइनमार्फत नासालाई पठाएका थिए। त्यसपछि उनी ‘नासा स्पेस एप्स च्यालेन्ज’ मा छनोट भएका हुन्। हाल उनी अनलाइन माध्यमबाटै उक्त कार्यक्रममा सहभागी भइरहेका छन्।
आर्यनको प्रतिभालाई पहिचान गरी अध्ययन, आवास र प्रयोगात्मक अनुसन्धानको अवसर उपलब्ध गराएको चैतन्य पाठशालाले उनको क्षमतालाई थप निखार्ने वातावरण तयार गरेको छ। विद्यालयको छात्रवृत्ति र विज्ञान प्रयोगशालाको सुविधाले आर्थिक कठिनाइका बाबजुद आफ्नो सपना पछ्याइरहेका आर्यनलाई अघि बढ्न सहयोग पुगेको छ।
सानै उमेरमा आफ्नै प्रयासमा हवाईजहाज र ड्रोन निर्माणमा जुटेका आर्यनको नासाको कार्यक्रममा सहभागिताले प्रतिभा र अवसरको संयोजनले नयाँ सम्भावना सिर्जना गर्न सक्ने उदाहरण प्रस्तुत गरेको छ।