धनगढीः चैतन्य पाठशाला धनगढीले विद्यालयका व्यवस्थापक ईश्वर गिरीलाई उत्कृष्ट व्यवस्थापकीय नेतृत्व सम्मान प्रदान गरेको छ। विद्यालयको सर्वाङ्गीण विकासमा पुर्याएको योगदानको कदर गर्दै विद्यालयले गिरीलाई मोटरसाइकल उपहारसहित सम्मान गरेको हो।
दसैँको अवसर पारेर विद्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले गिरीलाई सुपर स्प्लेन्डर मोटरसाइकल हस्तान्तरण गर्दै सम्मान गरेका हुन्।
सम्मान कार्यक्रममा प्राचार्य ओझाले गिरीले विद्यालयको विकास र व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै त्यसको कदरस्वरूप सम्मान गरिएको बताए। विद्यालयको उन्नति र प्रगतिका लागि योगदान पुर्याउने व्यक्तिहरूको हौसला बढाउन सम्मानले प्रेरणा दिने उनको भनाइ थियो।
त्यस्तै, चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले विद्यालयका व्यवस्थापकका रूपमा गिरीले संस्थालाई पुर्याएको योगदानको कदर गर्दै मोटरसाइकल उपहार प्रदान गरिएको बताए। उनले विद्यालयको विकासमा योगदान पुर्याउने शिक्षक तथा कर्मचारीको सम्मान र सहयोगका लागि संस्था आगामी दिनमा पनि तत्पर रहने प्रतिबद्धता व्यक्त गरे।
मोटरसाइकल ग्रहण गर्दै गिरीले आफ्नो योगदानको कदर गर्दै सम्मान गरेकोमा विद्यालय परिवारप्रति धन्यवाद व्यक्त गरे।