धनगढीः बजेट विवाद चर्किएपछि सुदूरपश्चिम प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन बहिष्कार गर्ने निर्णय गरेको छ। सरकारले मंगलबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरी बजेट पारित गर्ने प्रक्रिया अघि बढाउन खोजे पनि कांग्रेसको निर्णयले प्रदेशसभाको राजनीतिक माहोल थप तनावपूर्ण बनेको छ।
बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षीसँग आवश्यक समन्वय नगरेको भन्दै सदन बहिष्कार गर्ने निर्णय गरिएको नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन्। उनले आजदेखि प्रदेशसभाका सबै बैठक बहिष्कार गर्ने जानकारी दिएका छन्।
यसैबीच, बजेट विवाद समाधान गर्न सत्तारूढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र बजेट संशोधन तथा छानबिन गर्ने सहमति भएको छ। नेकपाले संसदीय छानबिन समिति गठन गर्ने र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमति गरेको हो।
मंगलबार बसेको नेकपा संसदीय दलको बैठकले आइतबार प्रदेशसभामा प्रस्तुत बजेट पारित गर्ने र बजेटमा देखिएका विवादित विषयलाई संसदीय छानबिनमार्फत टुङ्ग्याउने निर्णय गरेको नेकपाका एक सांसदले जानकारी दिएका छन्।
आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। बजेटमाथिको छलफल सुरु हुनुअघि नै विवाद चर्किएपछि प्रदेशसभा बैठकसमेत प्रभावित भएको थियो।
सत्तापक्षले बजेट पारित गरेर विवादित विषयलाई संसदीय छानबिनमार्फत समाधान गर्ने तयारी गरिरहेको छ। तर, प्रमुख प्रतिपक्षी कांग्रेसले सदन बहिष्कार गर्ने निर्णय गरेपछि बजेट पारित गर्ने प्रक्रिया थप राजनीतिक विवादबीच अघि बढ्ने देखिएको छ।