सात वर्षको मेहनतपछि पत्रकार यज्ञराज जोशीको ‘बैसाखी’ सार्वजनिक - Chaitanya News
  • 2026-10-12
  • 17:21:56
  • सोमबार,आश्विन २६, २०८३
  • सात वर्षको मेहनतपछि पत्रकार यज्ञराज जोशीको ‘बैसाखी’ सार्वजनिक

    सात वर्षको मेहनतपछि पत्रकार यज्ञराज जोशीको ‘बैसाखी’ सार्वजनिक

    काठमाडौँ– सुदूरपश्चिमको माटो, भुइँमान्छेका संघर्ष, महिलाका पीडा र पछिल्लो पुस्ताको मनोविज्ञानलाई कथामार्फत प्रस्तुत गर्दै युवा साहित्यकार तथा पत्रकार यज्ञराज जोशीको पहिलो कथा संग्रह ‘बैसाखी’ सार्वजनिक भएको छ ।

    शनिबार काठमाडौँमा आयोजित समारोहमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. महादेव अवस्थी, साहित्यकार तथा समालोचक ज्ञानु अधिकारी र समालोचक एवं पुस्तकका सम्पादक सुभाषचन्द्र भण्डारीले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका हुन् ।

    कार्यक्रममा वक्ताहरूले ‘बैसाखी’ले समाजका ओझेलमा परेका पात्र, उनीहरूको जीवन भोगाइ र संघर्षलाई साहित्यिक अभिव्यक्ति दिएको चर्चा गरे । प्रमुख अतिथि प्राडा. अवस्थीले पत्रकारिताबाट आएका लेखकका शब्दमा शक्ति हुने उल्लेख गर्दै जोशीमा सिर्जनात्मक प्रतिभा, इच्छाशक्ति र लोकपरिवेशलाई लेखनमा उतार्ने क्षमता रहेको बताए ।

    उनले जोशीको लेखनमा काव्यात्मक शैली देखिएकाले त्यसले कथानकलाई कमजोर बनाउन सक्ने सम्भावनाप्रति सचेत रहन सुझाव दिए । आगामी साहित्यिक यात्रामा थप परिपक्वता हासिल गर्न पनि उनले शुभकामना व्यक्त गरे ।

    समीक्षक ज्ञानु अधिकारीले ‘बैसाखी’लाई भुइँमान्छेको इतिहास समेटिएको कथा संग्रहका रूपमा व्याख्या गरिन् । उनका अनुसार संग्रहमा माटोको सुगन्ध बोकेका कथा, महिलाका आँसु र पीडा तथा समाजमा निरिह बनाइएका वर्गका अनुभवलाई प्रमुख स्थान दिइएको छ । लेखकले नारीवादी मनोविज्ञानलाई समेत सशक्त रूपमा प्रस्तुत गरेको उनको भनाइ थियो ।

    ‘लेखक जोशीले माटोका कथा लेख्नुभएको छ । महिलाका आँसु र पीडाका कथा छन् । निरिह पारिएका वर्गलाई नायकका रूपमा प्रस्तुत गरिएको छ’, अधिकारीले भनिन् ।

    कथाका पात्रले जस्तै समाजका सबै पुरुषले महिलालाई सम्मान गर्न सके संसार अझ सुन्दर हुने भाव आफूमा कथा पढ्दा पैदा भएको उनले बताइन् ।

    पुस्तकका सम्पादक भण्डारीले जोशीको लेखनमा आधुनिक कथाशिल्प र पछिल्लो पुस्ताको मनोभाव गहिरोसँग अभिव्यक्त भएको बताए । बाल्यकालदेखि गाउँपरिवेशसम्मका विषयलाई लेखकले सूक्ष्म रूपमा चित्रण गरेको उनको भनाइ थियो । कतिपय कथामा वास्तविक पात्रको अनुमति लिएर कथा बुन्ने नयाँ प्रयोगसमेत गरिएको उनले उल्लेख गरे ।

    सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा. टीएन जोशीले लेखकसँगको दुई दशक लामो चिनजान स्मरण गर्दै उनी साहित्यिक गतिविधिमा निरन्तर सक्रिय रहेको बताए । सुदूरपश्चिमको भूमिबाट दुःख र संघर्ष गर्दै अघि बढेका जोशीले भुइँमान्छेकै जीवन र भोगाइलाई कथामा उतारेकोमा उनले खुसी व्यक्त गरे ।

    प्राध्यापक माधव नेपालले पनि ‘बैसाखी’ तयार पार्ने क्रममा आफूले विभिन्न सुझाव दिएको स्मरण गरे । जोशीले सात वर्षको मेहनत र प्रतीक्षापछि कृति सार्वजनिक गर्न सफल भएको उल्लेख गर्दै उनको धैर्य र सिर्जनात्मक लगाव प्रशंसनीय रहेको बताए ।

    कृतिकार जोशीले आफ्ना भावना र अनुभव ‘बैसाखी’मार्फत प्रस्तुत गरिसकेको बताउँदै अब पाठकबाट प्राप्त सुझावलाई अमूल्य निधिका रूपमा लिने बताए । साहित्यप्रतिको आफ्नो आकर्षणको स्रोत आमाले भारतमा रहेका पितालाई चिठी लेख्न लगाउँदा सुनाउने देउडा रहेको उनले सुनाए ।

    ‘आमाले दुई दशकअघि भारतमा रहेका पितालाई चिठी लेख्न भन्नुहुन्थ्यो । चिठीको अन्तिममा देउडा लेख्नुहुन्थ्यो । म त्यसैबाट प्रेरित भएर साहित्यिक क्षेत्रमा आकर्षित भएको हुँ । आज त्यही प्रेरणाले बैसाखीको रूप लिएको छ’, उनले भने ।

    शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्पराज पैडेलले ऊर्जावान युवा लेखक जोशीको कृति प्रकाशन गर्न पाउँदा खुसी लागेको बताए । लोकार्पण हुनुअघि नै पुस्तकको माग बढिसकेको उनको भनाइ थियो ।

    ‘बैसाखी’को बजार मूल्य ५९५ रुपैयाँ तोकिएको छ ।