‘नेपालको कूटनीति असफल होइन, स्वतन्त्रता जोगाउनु नै ऐतिहासिक सफलता’ : पाण्डे - Chaitanya News
  • 2026-10-12
  • 15:46:36
  • सोमबार,आश्विन २६, २०८३
  • ‘नेपालको कूटनीति असफल होइन, स्वतन्त्रता जोगाउनु नै ऐतिहासिक सफलता’ : पाण्डे

    ‘नेपालको कूटनीति असफल होइन, स्वतन्त्रता जोगाउनु नै ऐतिहासिक सफलता’ : पाण्डे

    काठमाडौँ– भारतका लागि प्रस्तावित नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले नेपालको कूटनीति असफल नभएको दाबी गर्दै दक्षिण एसियाका अधिकांश मुलुक बेलायती उपनिवेशमा रहँदा पनि नेपाल स्वतन्त्र रहनुलाई कूटनीतिक सफलताको प्रमाणका रूपमा प्रस्तुत गरेका छन्।

    सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना र दृष्टिकोण प्रस्तुत गर्दै पाण्डेले विकास, पूर्वाधार निर्माण र राजनीतिक स्थिरतामा कमजोरी रहे पनि नेपालको सार्वभौमिकता र स्वतन्त्रता जोगाउन कूटनीतिले महत्त्वपूर्ण भूमिका खेलेको बताएका हुन्।

    समिति सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले नेपालजस्तो सानो राष्ट्रका लागि राष्ट्रिय पहिचान, नक्सा र झण्डाको विषय संवेदनशील हुने उल्लेख गरे। यस्ता विषयमा कूटनीतिक वार्ता गर्दा पर्याप्त गृहकार्य, परिपक्वता र गम्भीरता आवश्यक पर्ने उनको भनाइ थियो।

    पाण्डेले नेपाल–भारत सम्बन्धलाई थप प्रभावकारी बनाउन बीपी कोइराला भारत–नेपाल फाउन्डेसन (बीपीकेएफ) लाई पुनः सक्रिय बनाउनुपर्नेमा पनि जोड दिए। विगतमा नेपाल सरकारबाट पर्याप्त बजेट विनियोजन नहुँदा फाउन्डेसनका नेपाली पक्षका कार्यक्रम भारतीय पक्षको तुलनामा ओझेलमा परेको उनले स्वीकार गरे। आगामी दिनमा राष्ट्रिय प्राथमिकताका आधारमा फाउन्डेसनका गतिविधि अघि बढाउने उनले प्रतिबद्धता जनाए।

    नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको व्यवस्थापन र कार्यशैली सुधारलाई पनि उनले प्राथमिकतामा राखेका छन्। दूतावासको आधिकारिक वेबसाइटमा पूर्वराजदूतहरूको नामावलीसमेत नरहेको विषयलाई दुःखद् भन्दै उनले अतिरिक्त बजेटबिनै सुधार गर्न सकिने प्रशासनिक काम तत्काल अघि बढाउने बताए।

    आफ्नो निष्ठा, अनुभव, ज्ञान र सम्बन्ध सञ्जालको उपयोग गर्दै दूतावासको कार्यक्षमता बढाउने पाण्डेको प्रतिबद्धता छ।