काठमाडौँ– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न नेपाल प्रहरीलाई प्रविधिमैत्री, पारदर्शी र नागरिकप्रति उत्तरदायी संगठनका रूपमा विकास गर्नुपर्ने बताएका छन्। उनले प्रहरीको वास्तविक शक्ति कानुनी अधिकारमा मात्र सीमित नभई नागरिकले गर्ने विश्वासमा समेत निर्भर रहने उल्लेख गर्दै निष्पक्ष र व्यावसायिक सेवा प्रवाहमा जोड दिएका छन्।
सोमबार प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले साइबर तथा डिजिटल अपराध, अन्तरदेशीय अपराध र विपद् व्यवस्थापनजस्ता चुनौती सामना गर्न प्रहरीको कार्यशैलीमा परिवर्तन आवश्यक रहेको बताए।
उनका अनुसार सूचना प्रविधि, डिजिटल प्रणाली र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग बढाउँदै लैजाँदा मानवअधिकार, कानुनी प्रक्रिया र व्यावसायिक विवेकलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्छ। प्रविधिको प्रयोगले प्रहरी सेवा प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउनुपर्ने उनको भनाइ थियो।
आईजीपी कार्कीले प्रहरी कर्मचारीलाई व्यक्तिगत धारणा, बाह्य प्रभाव र अनुचित दबाबबाट मुक्त भएर कानुन कार्यान्वयन गर्न निर्देशन दिए। कानुनअनुसार काम गर्नु मात्रै पर्याप्त नहुने उल्लेख गर्दै उनले त्यसको प्रक्रिया पनि निष्पक्ष, सम्मानजनक, पारदर्शी र जवाफदेही हुनुपर्ने बताए।
प्रहरीको निर्णयप्रति नागरिकले असहमति जनाउन सक्ने भए पनि प्रहरीको व्यवहार निष्पक्ष रहेको अनुभूति हुने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए। नागरिकको विश्वास कायम राख्न प्रहरी कर्मचारीको आचरण र सेवा प्रवाह महत्त्वपूर्ण हुने उनको भनाइ थियो।
उनले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य संवेदनशील समूहसँग सम्बन्धित घटनामा विशेष सावधानी अपनाउन निर्देशन दिए। यस्ता घटनामा पीडितकेन्द्रित दृष्टिकोण, गोपनीयता र संवेदनशीलतालाई प्राथमिकता दिनुपर्ने उनले बताए।
‘प्रहरीको शक्ति कानूनले प्रदान गरेको अधिकारमा मात्र होइन, नागरिकले गर्ने विश्वासमा पनि निहित हुन्छ,’ कार्कीले भने।
प्रहरी निरीक्षक आधारभूत तालिम पूरा गरेका अधिकृतहरूलाई सम्बोधन गर्दै उनले नेपाल प्रहरीलाई नागरिकको सहयोगी र भरोसायोग्य संस्थाका रूपमा स्थापित गर्न व्यावसायिकता, निष्पक्षता र उत्तरदायित्वलाई व्यवहारमै उतार्नुपर्ने बताए।
प्रविधिको विकाससँगै अपराधको स्वरूप र सुरक्षा चुनौतीसमेत परिवर्तन भइरहेकाले प्रहरी संगठनले आफ्नो क्षमता र कार्यशैलीलाई समयअनुसार परिमार्जन गर्नुपर्ने उनको जोड थियो। नागरिकको अधिकारको सम्मान गर्दै कानुनको निष्पक्ष कार्यान्वयन गर्नु प्रत्येक प्रहरी कर्मचारीको जिम्मेवारी रहेको उनले स्मरण गराए।