पाँच जिल्लाका राजमार्गमा बाढीपहिरोको असर, कहाँ खुल्यो र कहाँ बन्द छ सडक? - Chaitanya News
  • 2026-10-12
  • 09:54:43
  • सोमबार,आश्विन २६, २०८३
  • पाँच जिल्लाका राजमार्गमा बाढीपहिरोको असर, कहाँ खुल्यो र कहाँ बन्द छ सडक?

    पाँच जिल्लाका राजमार्गमा बाढीपहिरोको असर, कहाँ खुल्यो र कहाँ बन्द छ सडक?

    काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न पाँच जिल्लाका प्रमुख सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै गोरखाको एक सडक पूर्ण रूपमा अवरुद्ध रहेको र म्याग्दी, नवलपरासी पूर्व, मनाङ तथा धादिङका सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा रहेको जनाएको छ।

    गण्डकी प्रदेशको गोरखामा बाढीले आरुघाट गाउँपालिका–२, ३ र ९ अन्तर्गत नयाँपुल क्षेत्रमा क्षति पुर्‍याएपछि आरुघाटबाट धादिङ जोड्ने सडक अवरुद्ध भएको छ। असोज २५ गते बिहान ५ः३० बजे आएको बाढीले सोतीस्थित फलामे पुलमा समेत क्षति पुर्‍याएको प्रहरीको विवरणमा उल्लेख छ।

    यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा असोज १० गते खसेको पहिरोका कारण प्रभावित बेनी–जोमसोम सडक अहिले एकतर्फी सञ्चालनमा छ। नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरो क्षेत्रमा असोज १४ गतेदेखि प्रभावित कालीगण्डकी करिडोर पनि एकतर्फी रूपमा सञ्चालनमा रहेको छ। उक्त सडकमा ठूला सवारीसाधन भने चल्न नसक्ने प्रहरीले जनाएको छ।

    मनाङमा असोज ८ गते आएको बाढीले बेँसीसहरदेखि खाङ्सारसम्म जाने सडक प्रभावित बनाएको थियो। उक्त सडकखण्डमा पनि एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

    यसैगरी, बागमती प्रदेशको धादिङस्थित धुनिबेंसी नगरपालिका–९ खत्रीपौवामा असोज २१ गते राति ९ः५० बजे खसेको पहिरोले त्रिभुवन राजपथ प्रभावित भएको थियो। उक्त सडक हाल एकतर्फी रूपमा सञ्चालनमा आएको नेपाल प्रहरीले जनाएको छ।

    बाढीपहिरोका कारण सडक सञ्जाल प्रभावित भइरहेकाले यात्रुले सम्बन्धित सडकको अवस्था बुझेर यात्रा गर्नुपर्ने देखिएको छ।