काँग्रेसमा उपसभापति र महामन्त्रीको टुंगो, भण्डारी–आचार्य र पौडेल–राणा विजयी - Chaitanya News
  • 2026-10-12
  • 09:10:10
  • सोमबार,आश्विन २६, २०८३
  • काँग्रेसमा उपसभापति र महामन्त्रीको टुंगो, भण्डारी–आचार्य र पौडेल–राणा विजयी

    काँग्रेसमा उपसभापति र महामन्त्रीको टुंगो, भण्डारी–आचार्य र पौडेल–राणा विजयी

    काठमाडौँ– नेपाली काँग्रेसको १५औँ महाधिवेशनबाट उपसभापति र महामन्त्री पदका विजेताको टुंगो लागेको छ। खुलातर्फको उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य निर्वाचित हुँदा समावेशी उपसभापतिमा विनोदकुमार चौधरी विजयी भएका छन्। यस्तै, महामन्त्रीमा प्रदीप पौडेल र उदयशम्शेर राणाले बाजी मारेका छन् भने महिलातर्फ डा. डिला सङ्ग्रौला (पन्त) निर्वाचित भएकी छन्।

    खुलातर्फको उपसभापतिमा भण्डारीले सबैभन्दा बढी तीन हजार ७३५ मत प्राप्त गरे। आचार्य दुई हजार ३४२ मतसहित दोस्रो स्थानमा रहँदै विजयी भए। प्रतिस्पर्धामा रहेका गोविन्द भट्टराईले एक हजार ७५२, सुरेन्द्रराज पाण्डेले एक हजार ६७३, धनराज गुरुङले एक हजार ५९६, दीपक गिरीले ९२३ र प्रा. डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरे।

    समावेशी उपसभापतिमा चौधरीले एक हजार ७४५ मत ल्याउँदै जित हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले एक हजार ६५८ मत प्राप्त गरे। त्यस्तै, फरमुल्लाह मन्सुरले एक हजार १४४, सीता गुरुङले एक हजार ११२ र रञ्जित कर्णले ५६२ मत पाए।

    महामन्त्रीतर्फ प्रदीप पौडेलले चार हजार १९४ मत प्राप्त गर्दै अग्रस्थानमा रहेर विजय हासिल गरे। उदयशम्शेर राणा दुई हजार ३३० मतसहित निर्वाचित भए। अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले दुई हजार २५७, गुरुराज घिमिरेले एक हजार ५१३, नैनसिंह महरले एक हजार १३४, अमरसिंह पुन मगरले एक हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरे।

    महिलातर्फको महामन्त्रीमा डा. डिला सङ्ग्रौला (पन्त) विजयी भएकी छन्। उनले तीन हजार ११८ मत प्राप्त गर्दा महालक्ष्मी उपाध्याय (डिना)ले दुई हजार ८६४ र रीता खनालले ८०४ मत पाएका छन्। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले नतिजाबारे जानकारी दिएका हुन्।