धनगढी: शिक्षकहरूबीच आपसी सद्भाव, सहकार्य, स्वस्थ प्रतिस्पर्धा र खेलकुदको भावना अभिवृद्धि गर्ने उद्देश्यले चैतन्य पाठशालाको आयोजनामा सञ्चालन भइरहेको चैतन्य फुटसल प्रतियोगिताको पहिलो दिनका १६ खेल सम्पन्न भएका छन् । प्रतियोगिताको पहिलो दिन विभिन्न विद्यालयका शिक्षक टोलीबीच उत्साहजनक प्रतिस्पर्धा भएको छ । पहिलो दिन सम्पन्न खेलमध्ये १५ खेलमा विजेता टोलीको टुङ्गो लागेको छ भने उद्घाटन खेल सुदूरवेदा र वाल्मीकिबीच बराबरीमा सकिएको छ।
शिक्षण पेसामा आबद्ध शिक्षकहरूलाई कक्षाकोठा र शैक्षिक गतिविधिबाहिर पनि आपसमा घुलमिल हुने, अनुभव आदानप्रदान गर्ने तथा खेलकुदमार्फत स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा सहभागी शिक्षक टोलीहरूले खेलमैदानमा आफ्नो खेलकौशल प्रदर्शन गर्दै प्रतिस्पर्धालाई रोचक बनाएका छन् ।
प्रतियोगिताको पहिलो खेलमा सुदूरवेदा र वाल्मीकिबीच प्रतिस्पर्धा भएको थियो । दुवै टोलीले प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरे पनि खेल बराबरीमा सकिएको थियो । त्यसपछि भएका खेलहरूमा विभिन्न विद्यालयका शिक्षक टोलीले उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गरेका छन् ।
दोस्रो खेलमा नास्टले विद्या भूषणलाई पराजित गर्दै जित हासिल गर्यो। तेस्रो खेलमा सत्यवतीले एक्सिसलाई पराजित गर्दा चौथो खेलमा नेपाल पुलिसले सैनिकलाई हरायो । पाँचौँ खेलमा नास्टले गार्डनरलाई पराजित गर्दै पहिलो दिन दोस्रो जित दर्ता गर्यो।
त्यसैगरी, छैटौँ खेलमा स्टेपिङले चैतन्य ‘ए’ लाई पराजित गर्यो । सातौँ खेलमा गार्डनरले विद्या भूषणलाई हराउँदा आठौँ खेलमा एलायन्सले ऐश्वर्यामाथि जित हासिल गर्यो । नवौँ खेलमा मयूरले एरिस्टोलाई र दशौँ खेलमा सिसिएसले सैनिकलाई पराजित गरे ।
पहिलो दिनको एघारौँ खेलमा सत्यवतीले शैलेश्वरीलाई हराउँदै दोस्रो जित हासिल गर्यो। बाह्रौँ खेलमा सिसिएसले नेपाल पुलिसलाई पराजित गर्यो भने तेह्रौँ खेलमा एलायन्सले डिलाइटलाई हरायो । चौधौँ खेलमा मयूरले डिस्कभरीलाई पराजित गर्दा पन्ध्रौँ खेलमा वाल्मिकीले अपीलाई हराउँदै जित निकाल्यो । पहिलो दिनको अन्तिम अर्थात् सोह्रौँ खेलमा एक्सिसले शैलेश्वरीलाई पराजित गर्दै पहिलो दिनको खेल टुङ्ग्यायो ।
पाँच टोलीको दुई–दुई जित
पहिलो दिनको नतिजाअनुसार नास्ट, सत्यवती, एलायन्स, मयूर र सीसीएसले दुई–दुई खेलमा जित हासिल गरेका छन् । नास्टले विद्या भूषण र गार्डनरलाई पराजित गरेको छ । सत्यवतीले एक्सिस र शैलेश्वरीलाई हराएको छ भने एलायन्सले ऐश्वर्या र डिलाइटमाथि जित निकालेको छ । त्यसैगरी, मयूरले एरिस्टो र डिस्कभरीलाई तथा सीसीएसले सैनिक र नेपाल पुलिसलाई पराजित गरेका छन् ।
शिक्षकहरूबीच आयोजित यस प्रतियोगिताले जित र हारको प्रतिस्पर्धासँगै आपसी सम्बन्धलाई थप सुमधुर बनाउने अवसरसमेत प्रदान गरेको छ । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यार्थीको भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका शिक्षकहरूलाई खेलकुदका माध्यमबाट एकै ठाउँमा जोड्नु प्रतियोगिताको सकारात्मक पक्षका रूपमा हेरिएको छ ।
शिक्षकको दैनिक जीवन शिक्षण, योजना निर्माण, विद्यार्थीको सिकाइ सहजीकरण र विभिन्न शैक्षिक जिम्मेवारीमा बित्ने गर्छ । यस्तो व्यस्तताबीच खेलकुदमा सहभागी हुँदा शारीरिक सक्रियता बढाउनुका साथै मानसिक ताजगी र आपसी आत्मीयता अभिवृद्धि गर्न सहयोग पुग्ने र यसले शिक्षकहरूबीच सहयोग, समन्वय र सामूहिक भावनालाई थप बलियो बनाउनसमेत मद्दत पुर्याउने चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रदाद जोशीले बताए ।
चैतन्य पाठशालाले ‘खेलभन्दा धेरै’ भन्ने नारासहित प्रतियोगिता सञ्चालन गरिरहेको छ । यस नाराले खेलकुदलाई जित र हारमा मात्र सीमित नराखी आपसी एकता, अनुशासन, सहकार्य र सकारात्मक सम्बन्ध विकास गर्ने माध्यमका रूपमा लिएको सन्देश दिन्छ ।
प्रतियोगिताको प्रकाशित खेलतालिकाअनुसार दोस्रो दिन असार २५ गते थप पाँच खेल सञ्चालन हुनेछन् । दोस्रो दिनको पहिलो खेलमा सुदूरवेदा र अपीबीच प्रतिस्पर्धा हुनेछ । बिहान ८ बजे चैतन्य ‘ए’ र चैतन्य ‘बी’ बीच खेल हुनेछ । त्यसपछि ऐश्वर्य र डिलाइट, एरिस्टो र डिस्कभरी तथा स्टेपिङ र चैतन्य ‘बी’ बीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो दिनका खेलहरू उत्साहजनक रूपमा सम्पन्न भएसँगै प्रतियोगिताको दोस्रो दिन पनि शिक्षकहरूबीच रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । प्रतियोगिताले विभिन्न विद्यालयका शिक्षकहरूलाई खेलकुदमार्फत जोड्नुका साथै आपसी सद्भाव, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ