बाढीपछि प्रधानमन्त्री उद्धार तथा राहत कोषमा १७ अर्बभन्दा बढी मौज्दात - Chaitanya News
  • 2026-10-08
  • 07:44:42
  • बिहिबार,आश्विन २२, २०८३
  • बाढीपछि प्रधानमन्त्री उद्धार तथा राहत कोषमा १७ अर्बभन्दा बढी मौज्दात

    बाढीपछि प्रधानमन्त्री उद्धार तथा राहत कोषमा १७ अर्बभन्दा बढी मौज्दात

    काठमाडौँः रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बुधबार राति ८ बजेसम्म दुवै कोषका विभिन्न खातामा गरी मौज्दात रकम १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ।

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषअन्तर्गत नौ वटा वाणिज्य बैंकमा रहेको खातामा १२ अर्ब ५७ करोड २८ लाख ७६ हजार ५२३ रुपैयाँ मौज्दात रहेको छ।

    त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड ९१ लाख ९३ हजार १७४ अमेरिकी डलर मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

    सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको रकममध्ये यसअघि नै बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब रुपैयाँ निकासा गरिसकेको छ।

    रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, संस्था तथा निकायबाट कोषमा आर्थिक सहयोग जम्मा हुने क्रम जारी रहेको छ।