कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिका–८ पृथ्वीबस्तीमा १२औँ संस्करणको श्री रामलीला तथा सांस्कृतिक देउडा महोत्सव आयोजना हुने भएको छ।
न्यू पृथ्वी युवा क्लबको आयोजनामा हुने महोत्सव २०८३ साल असोज २५ गतेदेखि कार्तिक ३ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा रामलीला प्रस्तुति तथा विभिन्न सांस्कृतिक देउडा कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।
धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवमा स्थानीय तथा आसपासका क्षेत्रका कलाकार र दर्शकहरूको सहभागिता रहने बताइएको छ।
महोत्सवमार्फत धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनसँगै स्थानीय कला, संस्कृति र देउडालाई उजागर गर्ने लक्ष्य राखिएको आयोजकको भनाइ छ।
न्यू पृथ्वी युवा क्लबले सम्पूर्ण श्रद्धालु, दर्शक तथा शुभेच्छुकहरूलाई महोत्सवमा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन हार्दिक अनुरोध गरेको छ।