काठमाडौँ– नेपालमा लामो समयदेखि पाइपलाइनमा रहेका तथा सम्झौता भएर पनि कार्यान्वयनमा जान नसकेका लगानी परियोजनाको गाँठो फुकाउने तयारी थालिएको छ। सरकारले विगतका लगानी सम्मेलन तथा अन्य माध्यमबाट आएका प्रस्तावलाई नयाँ कानूनी व्यवस्थामार्फत प्राथमिकताका साथ अघि बढाउने तयारी गरेको हो।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले वर्षौँदेखि रोकिएका परियोजनालाई एकद्वार प्रणालीबाट अघि बढाउने गरी कानून निर्माणको काम भइरहेको बताएका छन्। लगानीकर्ताले परियोजना अघि बढाउने निर्णय गरेपछि सम्झौता हस्ताक्षरदेखि कार्यान्वयनसम्म लाग्ने समयसमेत कानूनमै स्पष्ट गरिने उनको भनाइ छ।
नेपाल पूर्वाधार सम्मेलन तयारीसम्बन्धी लगानी तथा विकासका लागि कानून सुधार परामर्शको तीन दिने कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री लम्सालले कतिपय परियोजना १२–१४ वर्षअघि नै सम्झौता भए पनि अझै कार्यान्वयनमा जान नसकेको बताए।
उनका अनुसार केही लगानीकर्ताले परियोजनाका लागि प्रारम्भिक खर्चसमेत गरिसकेका छन्। तर विभिन्न कानूनी, प्रक्रियागत तथा अन्य कारणले परियोजना लामो समयदेखि अड्किएका छन्। अब यस्ता परियोजनाको अवस्था अध्ययन गरी कार्यान्वयनमा लैजाने वा आवश्यक निर्णय गर्ने तयारी भइरहेको उनले बताए।
मन्त्री लम्सालले नयाँ कानून बनेपछि पनि परियोजना कार्यान्वयनमा जान तीन महिनाभन्दा बढी समय लाग्ने अवस्था आए त्यसमा आवश्यक सुधार गर्नुपर्ने बताए। लगानीकर्ताले निर्णय गरेपछि कुन–कुन निकायबाट कति समयभित्र प्रक्रिया पूरा हुन्छ भन्ने स्पष्ट पार्ने गरी प्रणाली विकास गरिने उनको भनाइ छ।
उनले विगतका लगानी सम्मेलन तथा आन्तरिक र बाह्य लगानीकर्तासँग भएका छलफलबाट आएका लगानी प्रस्तावलाई समेत नयाँ कानूनी व्यवस्थामार्फत अघि बढाउने बताए। यसका लागि सम्बन्धित सबै निकायलाई एउटै प्रक्रियामा समेटेर लगानीकर्तालाई सहज हुने प्रणाली बनाउने तयारी गरिएको छ।
मन्त्री लम्सालले नेपालमा लामो समयदेखि लगानी गरिरहेका लगानीकर्तासँग पनि छुट्टाछुट्टै छलफल गर्नुपर्ने आवश्यकता औँल्याए। विगतमा लगानी गरेका लगानीकर्ता नेपालमा सन्तुष्ट छन् कि छैनन् तथा उनीहरूले भोगिरहेका समस्या र चुनौती के हुन् भन्ने विषयमा सरकारले जानकारी लिनुपर्ने उनको भनाइ छ।
उनले ३०–४० वर्षअघि नेपालमा लगानी गरेका लगानीकर्तासँग समेत छलफल गरी उनीहरूले भोगेका समस्या पहिचान गर्ने र समाधानको दिशामा काम गर्ने बताए। यसका लागि दसैँअघि नै अर्को चरणको छलफल अघि बढाउने तयारी रहेको उनले जानकारी दिए।