काठमाडौँ– संघीय संसद्अन्तर्गतका चार वटा संसदीय समितिको बैठक सोमबार बस्ने भएको छ। संसद् सचिवालयका अनुसार समितिहरूले नेपाल वायुसेवा निगमको सुधारदेखि उद्योग–वाणिज्य क्षेत्रका समस्या, विधेयकमाथिको छलफल र संशोधन मण्डलको स्थलगत अवलोकनसम्मका विषयमा छलफल गर्नेछन्।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा नेपाल वायुसेवा निगमको सुधारका लागि भावी मार्गचित्रका सम्बन्धमा छलफल हुनेछ। साथै समितिअन्तर्गत गठित उपसमिति तथा कार्यदलमा सदस्य छनोट गर्ने विषयमा पनि छलफल गर्ने कार्यसूची रहेको छ।
त्यसैगरी, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे १० बजे बस्नेछ। बैठकमा उद्योग तथा वाणिज्य क्षेत्रमा देखिएका नीतिगत एवं व्यवहारिक समस्याका विषयमा सरोकारवालासँग छलफल गरिनेछ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पौने १२ बजे बस्नेछ। बैठकमा समितिमा प्राप्त विधेयकका सम्बन्धमा समिति सचिवले जानकारी गराउनेछन्। त्यसपछि मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल हुनेछ। उक्त छलफलका लागि सम्बन्धित मन्त्री र सचिवलाई बोलाइएको छ।
यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा काठमाडौँको डल्लुस्थित संशोधन मण्डलको स्थलगत अवलोकन गरिनेछ भने विविध विषयमा समेत छलफल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।