धनगढीः धनगढीको चैतन्य पाठशालाले एक सातामै फुटबल र क्रिकेटका दुई फरक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै खेलकुदमा आफ्नो बलियो उपस्थिति देखाएको छ । टि १० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपअन्तर्गत चैतन्यले सत्यवती एकेडेमी (बी) लाई १३ रनले पराजित गर्दै शानदार जित हात पारेको थियो भने विद्यालयको फुटबल टोलीले सातौँ फारवेष्ट कप आधारभूत तह विद्यालयस्तरीय पेनाल्टी सुटआउट फुटबल प्रतियोगिता–२०८३ मा उपविजेता बनेको हो ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–१० मा फारवेष्ट इन्टरनेसनल स्कुलले आयोजना गरेको फुटबल प्रतियोगिताको फाइनलमा चैतन्य पाठशाला पुनर्वास–११ स्थित आदर्श बोर्डिङ स्कुलसँग ५–४ गोलअन्तरले पराजित हुँदै उपविजेतामा सीमित भएको हो । प्रतियोगितामा कैलाली र कञ्चनपुरका २७ विद्यालय सहभागी भएका थिए ।
उपविजेता बनेको चैतन्यले २५ हजार रुपैयाँ नगद, ट्रफी र मेडल प्राप्त गरेको छ । प्रतियोगितामा चैतन्यका कुशल कुँवर सर्वाधिक गोलकर्ता घोषित भए भने विद्यालयका फुटबल प्रशिक्षक तथा पूर्व राष्ट्रिय खेलाडी टेक भट्टराई उत्कृष्ट प्रशिक्षक घोषित भए ।
त्यस्तै, टि १० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपअन्तर्गत भएको खेलमा चैतन्य पाठशालाले सत्यवती एकेडेमी (बी) लाई १३ रनले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको चैतन्यले निर्धारित १० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । जवाफी ब्याटिङमा सत्यवतीले १० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन मात्र बनाउन सकेपछि चैतन्य विजयी भएको हो ।
क्रिकेटतर्फ चैतन्यका किरणकुमार ठगुन्नाले ४० रन, रवि दमाईले २५ रन र विरेन्द्र बमले २४ रन बनाए । बलिङतर्फ अर्जुन बीकेले ३ विकेट तथा हिक्मत महारा र धिरज साउँदले समान २–२ विकेट लिए ।
एक साताको अवधिमा फुटबलमा उपविजेता र क्रिकेटमा विजयी हुँदै चैतन्य पाठशालाले पढाइसँगै खेलकुदमा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्ने विद्यालयका रूपमा आफ्नो पहिचान थप बलियो बनाएको छ । विद्यार्थीहरूको मेहनत, अनुशासन र निरन्तर अभ्यासले यी उपलब्धि हासिल गर्न महत्वपूर्ण भूमिका खेलेको विद्यालयको भनाइ छ ।