करदाता प्रोत्साहन उपहार कार्यक्रम: पर्साका कानुले पाए १० लाखको बम्पर उपहार - Chaitanya News
  • 2026-10-02
  • 16:42:30
  • शुक्रबार,आश्विन १६, २०८३
  • करदाता प्रोत्साहन उपहार कार्यक्रम: पर्साका कानुले पाए १० लाखको बम्पर उपहार

    करदाता प्रोत्साहन उपहार कार्यक्रम: पर्साका कानुले पाए १० लाखको बम्पर उपहार

    काठमाडौँ– पर्साका लालबाबु साह कानुले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्।

    आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्म भएका कारोबारमध्ये कानुले गरेको खरिदसँग सम्बन्धित कारोबार बम्पर उपहारका लागि छनोट भएको हो।

    विभागले शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा असोज महिनाको पहिलो १५ दिनका विजेता घोषणा गरेको हो। प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिकी सभापति सुम्निमा उदास तथा प्रतिनिधिसभा सदस्यद्वय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा विजेता घोषणा गरेका थिए।

    विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन तथा नगदमार्फत वस्तु तथा सेवा खरिद गरी बिल लिएका उपभोक्ताका ३ करोड १८ लाख १८ हजार २८६ वटा कारोबार उपहार कार्यक्रमका लागि योग्य भएका थिए।

    त्यसमध्ये नगद कारोबार गरी बिल लिएका २ लाख ४७ हजार ९७९ वटा कारोबार कार्यक्रममा समावेश भएका थिए भने अनलाइन तथा कार्डमार्फत भुक्तानी गरिएका ३ करोड १५ लाख ७० हजार ३०७ वटा कारोबार उपहारका लागि योग्य भएका थिए।

    यिनै योग्य कारोबारमध्ये कानुले २१ हजार रुपैयाँमा ल्युब आयल खरिद गर्दा गरेको कारोबार १० लाख रुपैयाँको १५ दिने बम्पर उपहारका लागि छनोट भएको विभागले जनाएको छ।

    विजेता घोषणा भएपछि आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूषालले कानुलाई फोनमार्फत बधाई दिएका थिए। उनले पुरस्कार प्राप्त गर्ने प्रक्रियाका लागि नजिकको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन्।

    दैनिक १ लाखका विजेता पनि छनोट:

    विभागले १५ दिने बम्पर उपहारसँगै असोज १ देखि १५ गतेसम्मका दैनिक उपहार विजेतासमेत घोषणा गरेको छ।

    कार्यक्रमअन्तर्गत दैनिक १ लाख रुपैयाँका दरले उपहार पाउने विजेताहरूको कुपन विवरणसमेत विभागले सार्वजनिक गरेको छ।

    यससँगै असोजको पहिलो १५ दिनमा नगद, अनलाइन तथा कार्डमार्फत कारोबार गरी बिल लिएका उपभोक्तामध्येबाट दैनिक उपहारका विजेता र १० लाख रुपैयाँको बम्पर उपहार विजेता छनोट गरिएको विभागले जनाएको छ।