सरकार–निजी क्षेत्र विवाद टुंग्याउन पूर्वाधार अदालत गठनको तयारी - Chaitanya News
  • 2026-10-02
  • 13:24:47
  • शुक्रबार,आश्विन १६, २०८३
  • सरकार–निजी क्षेत्र विवाद टुंग्याउन पूर्वाधार अदालत गठनको तयारी

    सरकार–निजी क्षेत्र विवाद टुंग्याउन पूर्वाधार अदालत गठनको तयारी

    काठमाडौँ– सरकार र निजी क्षेत्रबीच पूर्वाधार तथा लगानीका विषयमा उत्पन्न हुने विवादलाई लामो समयसम्म अल्झिन नदिन सरकारले पूर्वाधार अदालत गठनको तयारी थालेको छ।

    कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानूनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा पूर्वाधार अदालत गठनका लागि छिट्टै कानूनी प्रक्रिया अघि बढाइने बताइन्।

    उनका अनुसार लगानीको वातावरण निर्माणका लागि कानूनी स्थिरता आवश्यक छ। लगानीकर्ताले जुनसुकै सरकार आए पनि आफूले गरेको सम्झौता कार्यान्वयन हुने विश्वास गर्ने वातावरण बनाउन सरकार क्रियाशील रहेको उनले बताइन्।

    मन्त्री गौतमले सरकारले चालु आर्थिक वर्षलाई कानून सुधारको वर्षका रूपमा अघि बढाउँदै कानून निर्माण तथा आवश्यकताअनुसार संशोधनको प्रक्रिया अघि बढाएको जानकारी दिइन्। सरकार गठन भएयता मन्त्रिपरिषद्बाट करिब ५४ वटा विधेयक स्वीकृत भइसकेको र ती संसदमा दर्ता हुने चरणमा रहेको उनले बताइन्।

    तीन दिने कार्यशालाले पूर्वाधार विकास तथा लगानीका क्रममा देखिएका वास्तविक कानूनी जटिलता पहिचान गरी समाधानका उपाय निकाल्नुपर्नेमा उनले जोड दिइन्। सरकार र निजी क्षेत्रबीच हुने विवाद छिटो टुंग्याउन सक्ने कानूनी संयन्त्र आवश्यक रहेकाले पूर्वाधार अदालत गठनको तयारी अघि बढाइएको उनको भनाइ छ।

    मन्त्री गौतमले लगानीकर्ताको विश्वास कायम राख्न सरकार परिवर्तनसँगै कानून र नीतिमा अनावश्यक अस्थिरता आउन नहुने बताइन्। जुनसुकै सरकार आए पनि लगानीकर्ताले गरेको सम्झौता कार्यान्वयन हुने सुनिश्चितता आवश्यक रहेको उनको भनाइ छ।

    उनले नेपालको विकास मोडेल अन्य देशको अभ्यासको प्रतिलिपि नभई नेपालको सामाजिक, सांस्कृतिक, आर्थिक तथा भौगोलिक परिवेशअनुकूल हुनुपर्नेमा समेत जोड दिइन्। अन्य देशका अभ्यासलाई सन्दर्भका रूपमा लिन सकिए पनि नेपालको विकासको मोडेल आफैँले तय गर्नुपर्ने उनले बताइन्।

    विपद्का घटनाबाट समेत पाठ सिकेर पूर्वाधार विकास अघि बढाउनुपर्ने उल्लेख गर्दै उनले कानून, नीति र लगानीको वातावरणलाई दीर्घकालीन र स्थिर बनाउनुपर्नेमा जोड दिइन्।

    पूर्वाधार अदालत गठनका लागि आवश्यक कानूनी प्रक्रिया छिट्टै अघि बढाउने मन्त्री गौतमले बताइन्।