विज्ञ सांसदको ज्ञान नीति निर्माणमा उपयोग गर्न प्रधानमन्त्री शाहको जोड - Chaitanya News
  • 2026-09-30
  • 16:56:59
  • बुधबार,आश्विन १४, २०८३
  • विज्ञ सांसदको ज्ञान नीति निर्माणमा उपयोग गर्न प्रधानमन्त्री शाहको जोड

    विज्ञ सांसदको ज्ञान नीति निर्माणमा उपयोग गर्न प्रधानमन्त्री शाहको जोड

    काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले प्राविधिक तथा विज्ञतामूलक पृष्ठभूमि भएका सांसदहरूको ज्ञान, सीप र अनुभवलाई मुलुकको नीति निर्माण तथा विकास योजनासँग जोड्नुपर्नेमा जोड दिएका छन्।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार संघीय संसद्को प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राजनीतिक भूमिकासँगै सांसदहरूको पेशागत दक्षतालाई पनि मुलुक निर्माणमा उपयोग गर्नुपर्ने बताएका हुन्।

    उनले नीति निर्माण तहमा रहेका सांसदहरूले आफ्नो विज्ञतालाई दीर्घकालीन विकासका योजना, नीतिगत सुधार र प्राविधिक समाधान पहिल्याउन प्रयोग गर्नुपर्ने बताए।

    “तपाईँहरू आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्,” उनले भने।

    प्रधानमन्त्री शाहले निर्वाचन तथा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा सांसदहरूले आफ्नो पेशागत दक्षतालाई देश विकाससँग जोड्नुपर्ने धारणा राखे।

    प्राविधिक तथा विज्ञतामूलक क्षमता भएका सांसदहरूबाट नयाँ सोच, उपाय र अवधारणा आउनुपर्ने उल्लेख गर्दै उनले त्यस्ता अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्न सके छोटो समयमै मुलुकको विकासमा उल्लेख्य परिवर्तन ल्याउन सकिने बताए।

    उनले पाँच वर्षको अवधिमा मुलुकको विकासमा ठोस उपलब्धि हासिल गर्न सकिने भन्दै त्यसका लागि नीति निर्माण तहमा रहेका विज्ञ तथा प्राविधिक जनशक्तिको ज्ञान र क्षमतालाई अधिकतम उपयोग गर्नुपर्ने बताए।

    प्रधानमन्त्री शाहले राजनीतिक विषयमा मात्र केन्द्रित नभई दीर्घकालीन नीति निर्माण, नयाँ सोच र प्राविधिक समाधान पहिल्याउनेतर्फ सांसदहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।