रासायनिक मलमा आत्मनिर्भर बन्ने योजनाअन्तर्गत कारखाना स्थापनाको प्रक्रिया अघि बढ्दैछ : प्रधानमन्त्री शाह - Chaitanya News
  • 2026-09-30
  • 16:25:22
  • बुधबार,आश्विन १४, २०८३
  • रासायनिक मलमा आत्मनिर्भर बन्ने योजनाअन्तर्गत कारखाना स्थापनाको प्रक्रिया अघि बढ्दैछ : प्रधानमन्त्री शाह

    रासायनिक मलमा आत्मनिर्भर बन्ने योजनाअन्तर्गत कारखाना स्थापनाको प्रक्रिया अघि बढ्दैछ : प्रधानमन्त्री शाह

    काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालमा औद्योगिकीकरणको गति बढाउन निजी क्षेत्रसँग सहकार्य गर्दै नयाँ उद्योग तथा आयोजना अघि बढाउने बताएका छन्। त्यसका लागि आवश्यक नीतिगत, कानुनी र भन्सारसम्बन्धी सुधार गर्न सरकार तयार रहेको उनले बताएका हुन्।

    बुधबार सिंहदरबारमा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले विद्युत् उत्पादनसँगै त्यसको आन्तरिक खपत बढाउने उद्योग तथा आयोजना सञ्चालनलाई सरकारले प्राथमिकतामा राखेको जानकारी गराएका थिए।

    छलफलमा सहभागी रास्वपा सांसद डा. राम लामाका अनुसार सरकारले नेपालमै रासायनिक मल कारखाना स्थापनाको प्रक्रिया अघि बढाइरहेको छ। त्यसका लागि चाँडै प्रस्ताव आह्वान गर्ने तयारी रहेको प्रधानमन्त्री शाहले बताएका थिए।

    सरकारले निजी क्षेत्रसँगको सहकार्यमा रासायनिक मल कारखाना स्थापना गर्ने नीति यसअघि नै सार्वजनिक गरिसकेको छ। कारखाना स्थापनाका लागि आवश्यक नीतिगत तथा कानुनी व्यवस्था सुधार गर्नुका साथै भन्सार व्यवस्थामा समेत सुधार गर्ने सरकारको योजना छ।

    प्रधानमन्त्री शाहले विद्युत् खपत बढाउने उद्योग तथा आयोजनालाई आवश्यक सहुलियत उपलब्ध गराउने सरकारको योजना रहेको जानकारीसमेत सांसदहरूलाई दिएका थिए।

    औद्योगिकीकरणका लागि सांसदसँग सुझाव

    बुधबार दिउँसो १२ बजेदेखि करिब सवा २ बजेसम्म भएको छलफलमा १७ जना सांसद सहभागी थिए। छलफलको सुरुवातमा सांसदहरूले पछिल्लो बाढीपहिरोबाट उत्पन्न अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

    त्यसपछि प्रधानमन्त्री शाहले संसद्मा उठाइने विषय, सांसदको भूमिका तथा सरकारसँग गर्न सकिने समन्वयबारे धारणा राखेका थिए। उनले मुलुकमा औद्योगिकीकरण अघि बढाउन सरकारले चाल्नुपर्ने नीतिगत तथा व्यावहारिक कदमबारे ठोस सुझाव दिन सांसदहरूलाई आग्रह गरेका थिए।

    नयाँ योजना वा नीतिसम्बन्धी प्रस्ताव भए प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिधै सम्पर्क गर्न सकिने भन्दै प्रधानमन्त्री शाहले त्यस्ता प्रस्ताव लिएर आउने सांसद तथा अन्य व्यक्तिसँग सहज रूपमा छलफल गर्न आफू तयार रहेको बताएका थिए।

    नेपालमा रासायनिक मल कारखाना स्थापनाको विषय लामो समयदेखि चर्चामा रहे पनि अहिलेसम्म ठोस रूपमा अघि बढ्न सकेको छैन। विगतका सरकारले समेत बजेटमार्फत कारखाना स्थापनाका लागि रकम विनियोजन गर्दै आएका थिए।

    प्रधानमन्त्री शाहले भने मल कारखानासहित विद्युत्को आन्तरिक खपत बढाउने उद्योग र आयोजनालाई अघि बढाउँदै औद्योगिकीकरणको वातावरण निर्माण गर्ने संकेत गरेका छन्। प्रधानमन्त्री शाह स्वयं सिभिल तथा स्ट्रक्चरल इन्जिनियरिङ पृष्ठभूमिका रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विवरणमा उल्लेख छ।