काठमाडौँ– नेपाली काँग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ।
भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया प्रभावित भएपछि आज महाधिवेशनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरिएको सो पार्टीले जनाएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली यही असोज १५ गतेसम्म केन्द्रमा पठाइसक्नुपर्ने बताए।
केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको रजिष्ट्रेसन असोज १६ र १७ गते गरिने छ । महाधिवेशनको उद्घाटन समारोह यही असोज १८ गते दिउँसो २ बजे काठमाडौँको खुलामञ्चमा हुने समितिले जनाएको छ।
महाधिवेशनको बन्द सत्र तथा अन्य कार्यक्रम असोज १९ र २० गते सञ्चालन हुनेछन्। यस्तै, असोज २१ र २२ गते निर्वाचन कार्यक्रम सञ्चालन गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।