काठमाडौँ– लामो समयदेखि छलफल र तयारीको चरणमा रहेको संघीय निजामती सेवा विधेयक अब संघीय संसद्को प्रक्रियामा प्रवेश गर्ने भएको छ। सरकारले विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएको छ।
प्रशासन विशेष स्रोतका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी विधेयक संघीय संसद्मा पेस गर्ने निर्णय गरेको हो।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगको परामर्शसहितको विधेयक सोमबार मन्त्रिपरिषद्मा पठाएको थियो। मन्त्रिपरिषद्को स्वीकृतिपछि अब विधेयक संसद्मा दर्ता गर्ने प्रक्रिया अघि बढ्नेछ।
सरकारले यसअघि विधेयकका १४८ दफामाथि लोक सेवा आयोगको परामर्श मागेको थियो। आयोगले अध्ययनपछि आफ्नो सुझावसहित विधेयक सरकारलाई फिर्ता गरेको थियो।
विधेयकमा प्रस्तावित ३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेरसम्बन्धी व्यवस्था, ३० वर्ष सेवा पूरा गरेपछिको निवृत्तिभरण, सचिव तथा सहसचिव तहमा बाह्य प्रवेशलगायतका विषय कर्मचारी वृत्तमा चासोका विषय बनेका छन्। बहालवाला कर्मचारीको सेवा–सर्तसँग सम्बन्धित व्यवस्थालाई पनि कर्मचारीहरूले विशेष चासोका साथ हेरिरहेका छन्।
मन्त्रिपरिषद्को निर्णयसँगै लामो समयदेखि सरकारका विभिन्न तहमा छलफल हुँदै आएको संघीय निजामती सेवा विधेयक अब संसद्को विधायी प्रक्रियामा प्रवेश गर्ने भएको छ। संसद्मा पुगेपछि विधेयकका प्रस्तावित व्यवस्थामाथि थप छलफल र संशोधनको बाटोसमेत खुल्नेछ।