धनगढी- T10 राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै चैतन्य पाठशालाले बझाङ जिल्ला क्रिकेट संघलाई ४ विकेटले पराजित गरेको छ । रोमाञ्चक बनेको यस खेलसँगै चैतन्य पाठशालाले प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको हो ।
आज सम्पन्न खेलमा टस जितेको चैतन्य पाठशालाले पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । ब्याटिङका लागि मैदान उत्रिएको बझाङ जिल्ला क्रिकेट संघले निर्धारित १० ओभरमा संयमित खेल प्रदर्शन गर्दै ९३ रनको प्रतिस्पर्धात्मक योगफल तयार पार्यो । चैतन्यका बलरहरूले सुरुआतदेखि नै कसीलो बलिङ गर्दै विपक्षी टोलीलाई ठूलो स्कोर बनाउनबाट रोकेका थिए ।
९४ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको चैतन्य पाठशालाले आत्मविश्वासपूर्ण सुरुआत गर्यो । नियमित अन्तरालमा विकेट गुमाए पनि ब्याट्सम्यानहरूले आवश्यक रनगति कायम राख्दै टोलीलाई जिततर्फ अग्रसर गराए । अन्ततः ९ ओभरमै ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै चैतन्यले ४ विकेटको महत्वपूर्ण जित दर्ता गर्यो ।
खेलभर उत्कृष्ट प्रदर्शन गरेका चैतन्य पाठशालाका मिलन बोहोरा ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले टोलीको जितमा प्रभावशाली योगदान पु¥याउँदै निर्णायक भूमिका निर्वाह गरेका थिए ।
यस जितसँगै चैतन्य पाठशालाले प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । उपाधि नजिक पुगेको चैतन्य अब फाइनलमा विजेता बन्ने लक्ष्यसहित मैदान उत्रिनेछ । विद्यालयको टोलीले निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताभर प्रभावशाली यात्रा कायम राखेको छ । जसले खेलप्रेमी तथा विद्यालय परिवारमा थप उत्साह थपेको छ।